मुख्यमन्त्रीमा म रहने/नरहने कांग्रेसको हातमा छः शेरधन राई

  • 151
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको मन्त्रिपरिषद विस्तारबारे कांग्रेससँग छलफल भइरहेको बताएका छन्। ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा बोल्दै राईले प्रदेशमा निर्णायक बनेको कांग्रेससँग औपचारिक र अनौपचारिक छलफल भैरहेको जानकारी दिए।

‘कांग्रेसले अस्थिरता निम्त्याउनेसँग होइन, विधि र प्रकृयामार्फत चल्ने पक्षसँग मात्रै सहकार्य गर्छ भन्ने विश्वास छ,’ उनले भने, ‘कांग्रेसले केन्द्रको निर्णय नपर्खला। स्वनिर्णय गर्न माननीयज्यूहरु सक्षम हुनुहुन्छ।’

माघ ७ गते बस्ने हिउँदे अधिवेशनका लागि सभामुख र उपसभामुखले विधिसम्मत निर्णय लिने मुख्यमन्त्री राईको विश्वास छ। नेकपाका ६७ प्रदेश सभा सदस्यमध्ये ३७ जनाले राईविरुद्धको हस्ताक्षर पुस १२ गते संसद सचिवलयमा पेश गरेका छन्। ती मध्ये १५ जनालाई राईले विधानविपरीत गएको भन्दै कारबाही गरेका छन्।

प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्रीसहित आठजनालाई कारबाही गरेको छ। यस्तो बेला कुन सांसद आधिकारिक हुने र कसरी प्रदेश सभा बैठकमा प्रवेश दिने भन्ने अन्योल बढेको छ। यस्तो अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सभामुख प्रदिपकुमार भण्डारी कानूनी परामर्शमा छन्।

तोकिएको हिउँदे अधिवेशनमा केही बनेका कानुनले पूर्णता पाउने र प्रदेश नामांकनको विषयले प्रवेश पाउने मुख्यमन्त्रीले जानकारी दिएका छन्। ‘लामो समय थाती रहेको प्रदेश नामांकन विषयले प्रवेश पाउने छ’, राइले भने, ‘तर, यो असहज परिस्थितिमा ठिक ढंगले प्रदेशको नाम टुङ्गिएला भन्नेमा आशंका छ।’

उनले प्रदेश सभा सदस्यलाई अनुचित दबाब र प्रभावमा पार्ने जो कोही नाङ्गिने बताए। ‘म माननीयज्यूहरुलाई विवेकले निर्णय लिन भन्छु’, उनले भने, ‘जसले दबाब र प्रभाव पार्न खोज्छ उ नाङ्गिने छ।’ मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने चार प्रदेश सभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्