नेपालीपनको रक्षाका लागि मौलिकता जोगाऔंः सभामुख

agni_sapkota
  • 157
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्‍निप्रसाद सापकोटाले माघे संक्रान्ति पर्वले सबै नेपालीबीचमा सद्‌भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्‍वास व्यक्त गरेका छन्। माघे संक्रान्ति/माघी पर्वका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना दिएका छन्।

उनले भने, ‘तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ-आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्त्व रहेको छ। थारु समुदायले माघीलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे संक्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइन्छ।’

सभामुख सापकोटाले अगाडि भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो। त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्। हाम्रा संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ।’

उनले कोरोना भाइरस (कोभिड-१९) को महामारी कायम रहेकाले अरु चाडपर्वजस्तै यस वर्ष माघे संक्रान्ति/माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउन सबैमा अपिल गरेका छन्।