परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान

तस्बिरः रासस
  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन्। नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहिबार भारतको नयाँदिल्लीतर्फ गएका हुन्। बैठक तीन दिनसम्म चल्ने छ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड-१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ। भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादपछि नेपाल-भारतबीच यति उच्चस्तरमा पहिलो पटक वार्ता हुन लागेको हो। नेपालको आन्तरिक राजनीति निकै तरल अवस्थामा रहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन्।

बुधबार दिउँसो अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीसहित १५ जनाले विज्ञप्ति निकाले परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत भ्रमणका क्रममा कुनै पनि दीर्घकालीन प्रभाव पर्ने सन्धी-सम्झौतामा हस्ताक्षर नगर्न खबरदारी गरे।

मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्