काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अध्यक्ष प्रचण्ड हजार गुणा असल भएको बताएका छन्।
नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तर्क्रिया बोल्दै अध्यक्ष नेपालले आफूले प्रचण्डसँग चार दशकदेखि व्यवहार गरेको भन्दैयस्तो बताएका हुन्।
नेता नेपालले पञ्चायत विरोधी आनदोलनसँगै आफूहरु सँगसँगै अगाडि बढेको बताए। नेता नेपालले भने, पञ्चायतविरोधी संघर्षमा मात्र होइन, गणतन्त्रको आन्दोलनमा पनि, शान्ति प्रक्रियाको अभियानमा पनि सँगसँगै अगाडि बढेको हो।’
यस्तै नेता नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताए। विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाव दिएका हुन्। ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आएको पनि नेता नेपालले बताए।
नेपालले भने, ‘अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन। प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ‘ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो। उनले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ। अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ।’
नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए।