जनता समाजवादी पार्टी फुटाउन ओलीकाे चलखेल

rajendra n oli
  • 2.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। व्यक्तिगत स्वार्थका कारण संसद विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको छ। नेकपा विभाजित हुन सकेको छैन। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन्।
ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ। प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ।

नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन। प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन्। ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन्। उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन्। ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन्। कानूनअनुसार ओली बलियो अवस्थामा छन्। राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ। आयोगलाई यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ।

नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ। अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन । नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन्। छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन।

उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन्। हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन्। स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन्। ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए।

जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ। ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ। ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रिसाएका छन्। बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन्। उनीहरूबीचको सम्बन्ध राम्रो छैन। नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ। जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन्। तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ। (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्