केपी कमरेड ! भन्ने कम्युनिस्ट, बन्ने तानाशाह ? : पूर्वराजदूत कार्की

Tanka_Karki
  • 759
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वराजदूत एवं नेकपाका केन्द्रीय सदस्य टंक कार्कीले पार्टी नेतृत्वमा अधिनायकवादी प्रवृत्तिको विकाश हुँदा देशले राजनीतिक संकट खेप्न परेको बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको अन्तरक्रियामा नेता कार्कीले स्वतन्त्रताको लागि लडेको पार्टीको नेतृत्वमा अधिनायकवादी हाबी हुँदा देश र पार्टी दुवै संकटको अवस्थामा पुगेको बताए।

उनले पार्टी नेतृत्वले निर्माण गरेको संरचना, संस्थाहरू र अवलम्बन गरेको मूल्यमा समस्या रहेका कारण अहिलेको अवस्था निम्तिएको उनको भनाई छ। दुनियाँले स्वीकार गरेको राजनीतिक प्रणालीको सबै भन्दा उच्चतम व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक प्रणालीमा नेपाल रहँदा पनि राजनीतिक संकट निम्तिनुमा पार्टी नेतृत्वले निर्माण गरेको संरचना, संस्थाहरू र अवलम्बन गरेको मूल्य जिम्मेवार रहेको कार्कीले बताए।

‘हामीले अवलम्बन गरेको संरचनामा समस्या छ। हामीले बनाएका संस्थाहरूमा समस्या छ। समस्या हामीले अवलम्बन गर्दै आएका मूल्यहरूमा छ,’ उनले भने, ‘हामीले यस्तो संरचनामा बनयौं। दलीय व्यवस्थामा निर्दलीय विकाश गर्‍यौं। स्वतन्त्रताको शरीरको टाउकोमा अधिनायकवादी पुर्‍यायौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने काम गरेको कार्कीले बताए। ओलीमा तानाशाह प्रवृत्तिको विकाश भएकाले पार्टी आज संकटको अवस्थामा पुगेको उनको टिप्पणी छ। ओलीले आफूलाई समाजवादी, कम्युनिस्ट भन्दै आएको तर प्रवृत्ति तानाशाहीको देखाएको कार्कीको दाबी छ।

‘भन्ने समाजवादी, कम्युनिस्ट। तर मि फस्ट। म मात्र, मैले मैले प्रवृत्ति। यस्तो अभ्यास पार्टीमा भइरह्यो। अनि हामीले त्यसलाई अन्देखा गर्‍यौं। संस्थागत निर्णय गर्ने परिपार्टीहरु बिस्तारै बिस्तारै हरायो। र त्यसलाई पनि क्षमा गर्दै आयौं,’ उनले भने, ‘यदि केपी ओलीले हिजो साना गल्तीहरू गर्दा तपाईंले गलत गर्नुभयो। तपाईंको कुरा गलत हो। गलत सन्देश जान्छ। यो तरिका होइन भनेर त्यही समातेको भए सायद आजको दुर्घटना हुँदैन थियो।’