नेकपा स्थायी समिति बैठक सुरु, के आउला निर्णय ?

Nepal Communist Party (CPN) Leaders
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। बैठक कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणको आन्दोलनका विषयमा छलफल हुनेछ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले सडक आन्दोलन थालेपनि त्यसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खासै ठूलो असर गर्न सकेको छैन्। पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन्। पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ। तर, आन्दोलन सोचेअनुरूप उठ्न नसकेको, जन सहभागिता न्यून हुँदै गएको र जनतालाई आन्दोलनमा ल्याउन नसकेको समीक्षा भइरहेको छ।

संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापक रूपमा जनसहभागितासहितको प्रदर्शन गरिए पनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थायी कमिटी सदस्यहरूले बताएका छन्। बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए।

आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ। त्यस्तै आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ। पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन्।

केन्द्रदेखि जिल्ला तहसम्मका सबै कमिटीमा एकैसाथ जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको नेकपाको भनाइ छ। यसअघि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मात्रै इन्चार्ज तोकिएको थियो। अब सबै तहका कमिटीमा नयाँ जिम्मेवारी तोकिने नेकपाले जनाएको छ। ओली समूहमा लागेका प्रदेश तथा जिल्लाका पदाधिकारीलाई हटाएर नयाँ राख्नेबारे छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्