कृषि क्षेत्रमा विदेश लगानी आत्मनिर्भरताको बाधकः नेकपा

Prachanda_Nepal
  • 83
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। शुक्रवार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय रुद्ध गर्न माग समेत गरेको हो। सरकारले हालै विदेशीलाई समेत कृषि क्षेत्रमा लगानी खुल्ला गर्ने निर्णय गरेको थियो।

बैठकले दुरासयकासाथ विदेशी लगानी भित्र्याउने निर्णय गरेको भनेको छ। कृषि क्षेत्रलाई विदेशीहरूको खेलमैदान बनाई उनीहरूलाई पोस्ने दुराशयका साथ सरकारले निर्णय गरेको नेकपाको आरोप छ। नेकपा स्थायी समिति सदस्य भीम रावलले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय राष्ट्रहित विरोधी भएकोले उक्त निर्णय रुद्ध गर्न बैठकको माग रहेको बताए।

‘नेपालको कृषि क्षेत्रमा सहकारी, सामुदायिक र निजी क्षेत्रबाट लामो समयदेखि हुँदै आएको लगानीको फलस्वरूप कतिपय क्षेत्रमा देश आत्म निर्भरताको बाटोमा समेत अग्रसर भइरहेको अवस्थामा कृषि क्षेत्रलाई समेत विदेशीहरूको खुला मैदान बनाइ उनीहरूलाई पोस्ने दुराशयकासाथ नेपाल सरकारले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने भनी गरिएको निर्णयको यो बैठक विरोध गर्दछ,’ उनले भने, ‘राष्ट्र हित विरोधी निर्णय रुद्ध गर्न यो बैठक माग गर्दछ।’