एमसीसी पास नहुँदा दैनिक एक अर्ब घाटा भएको छ : टोपबहादुर रायमाझी

Top Bdr Rayamajhi
  • 2.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएका छन्। ‘देशलाई हितमा राखेर, केही बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं, होइन भने फिर्ता गरौं’ उनले भने।

लागु गर्ने कि नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उनले तत्कालै टुंगाउनुपर्ने बताए। ‘एमसीसी ११ बर्षअघिदेखिको योजना हो, बिचमा बनेको सबै सरकारले राइट लगाउदै आएका थिए, अहिले विवादित बनाइएको हो, मैले लिएर आएको त होइन।’ उनको कथन थियो।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राखे। ‘विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुदा त्यसलाई बेच्न पाइँदैन, दैनिक एक अर्ब बराबरको घाटा हुन्छ।’

लोडसेडिङ अन्त गर्न आफू २०७२ सालमा उर्जामन्त्री हुँदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उनले भने, ‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो, तर प्रचार अर्कै भयो।’

रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन गर्नुपरेको र यो बाध्यात्मक परिस्थितिको कारण भएको उनको तर्क रहेको छ। उनले भने, ‘यो संविधानसम्मत छ, संसद बिघटन अग्रगामी कदम हो, अब संसद पुर्नस्थापना हुन्न, देश चुनावमा गइसक्यो।’

अहिलेसम्मका उपलब्धि संस्थागत गर्न आफू सरकारमा गएको भन्दै उनले अहिले सरकार, मन्त्रालय बचाउन आफूहरु लागिपरेको बताए। पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए।

नेकपा फेरि एक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘अहिले नेताहरुले एकले अर्काेलाई पांडे गाली गर्दे हिडेका छन्, त्यो आवश्यक छैन, भोली एकै ठाउँ हुन पनि सकिन्छ, यो राजनीति हो राजनीतिमा असम्भव त केही हुन्न नि।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्