शेयरमा बैंकको लगानी बढ्दै

Stock-market-share
  • 4
    Shares
लोकपाटी न्यूज

शेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा कर्जा प्रवाह बढाएका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये शेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढ्नुले पनि यो पुष्टि हुन्छ । लकडाउन खुकुलो भएपछि शेयर बजार निरन्तरजसो उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लेको छ । यही मौकाको फाइदा उठाउँदै लगानीकर्ताले सस्तो ब्याजदरमा कर्जा लिएर शेयरमा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि यो क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् ।

गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले ६७ अर्ब ८५ करोड रुपैयाँ शेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा करिब ३४.६ प्रतिशत बढेको हो । २०७६ असोजमा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ६१ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) यो क्षेत्रमा कर्जा विस्तार उल्लेख्य भएको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस्तो कर्जा १.८ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको पाँच महिनासम्म व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि ६.८ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २.१ प्रतिशत बढेको थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि शेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम शेयर बजारमा गएको रूपमा विश्लेषण गरिएको छ । यो विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा शेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशतले घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा शेयर धितोमा कर्जा उपलब्ध गराउँदै आएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो ब्याजदर १३ देखि १५ प्रतिशत थियो । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटेको छ भने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रावहका लागि ठाउँ खोजिरहेका छन् ।

लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र अझै सामान्य अवस्थामा आउन सकेका छैनन् । यसकारण पनि बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा प्रवाहमा जोड दिन थालेको बैंकरहरू बताउँछन् । एउटै बैंकका फरकफरक शाखाले पनि छुट्टाछुट्टै ब्याजदरमा कर्जा दिने अफर आउन थालेको पनि एक ब्रोकरले बताए । यसअघि शेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि शेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन् । अहिले शेयर कर्जाको ब्याजदर पाँच वर्षयताकै कम भएको बैंकरहरू बताउँछन् । यसअघि २०७२ सालको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि शेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । अहिले पुनः त्यही अवस्था आएको उनीहरूको दाबी छ ।

तुलनात्मक रूपमा शेयर कर्जाको जोखिम भार बढी भए पनि नउठ्ने सम्भावना न्यून हुन्छ । बजार धेरै घटेपछि फोन गरेर पैसा थप्न लगाउने (मार्जिन कल) गर्न पाइने, परिपक्वको अवधि कम हुन्छ । यसकारण पनि असुली नहुने सम्भावना कम हुने बैंकहरू बताउँछन् ।

पछिल्ला महिनामा बैंकहरूको ध्यान शेयर बजारमा गएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि स्विकारे । ‘सिस्टममा अझै पनि पर्याप्त तरलता छ, लगानीका अन्य क्षेत्र बिस्तारै सहज बन्दै छन्, यसकारण केही सम्भावना देखिएको शेयर कर्जातिर बैंक लागेका हुन्,’ उनले भने । बैंकहरूले एकल अंकको ब्याजदरमा शेयर धितोमा कर्जा प्रवाह गर्न थालेको पनि उनले जानकारी दिए ।

शेयर धितोमा प्रवाह गरिने कर्जाको ब्याज घटेर पाँच वर्षअघिकै अवस्थामा पुगेकाले त्यसतर्फ आकर्षण बढेको ब्रोकरहरू बताउँछन् । कम ब्याजदरमा कर्जा उपलब्ध भएकै कारण शेयर बजारमा दैनिक कारोबार रकम बढेको उनीहरूको तर्क छ । ब्याजदरको अवस्था अझै केही महिना यस्तै रहने देखिएकाले शेयर कर्जा बढ्ने जानकारहरूको भनाइ छ । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा पनि बढाएको थियो ।

जसअनुसार शेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्यांकन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्