चुनावमा जान कांग्रेसलाई हतार छैनः पौडेल

Ramchandra_Poudel
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले चुनावमा जान हतार गर्न नहुने बताएका छन्। शनिबार तनहुँमा आयोजित कार्यक्रममा नेता पौडेलले चुनावमा जान कांग्रेसलाई हतार नभएको बताएका हुन्।

‘चुनावमा जान कांग्रेसलाई कुनै हतार भएको छैन,’ उनले भने, ‘अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन। कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन।’ उनले संसद् विघटनको मुद्दामा न्यायाधीशहरूले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको समेत बताए।

देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनस्थापन हुनुपर्ने उनको भनाइ थियो। नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए।

जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए। नेता पौडेलले संविधान बचाएर त्यही संविधान बमोजिम चुनावमा जान कांग्रेस तयार रहेको बताए।