सरकारले जेसुकै गर्न पाउँछ, प्रधानमन्त्रीलाई विशेषाधिकार छ : सुवास नेम्वाङ

Subash_nembang
  • 385
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (ओली समूह) का नेता सुवास नेम्वाङले संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताएका छन्। ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए।

संसद विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दामा धारणा राख्न मिले पनि आफू भने केही नबोल्ने बताए।

‘प्रधानमन्त्रीले संसद् विघटन गरेको हो, उहाँ बोल्न सक्नुहुन्छ। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुनाले म बोल्दिनँ भनेको थिएँ। अहिले पनि त्यै भन्छु। प्रधानमन्त्रीले संसद् विघटनबारे आफ्ना कुरा भन्न सक्नुहुन्छ। भन्न पाउनुहुन्छ। तर ठीक हो होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ’, उनले भने।

वैशाखमा घोषणा गरिएको निर्वाचन नहुने भन्ने भ्रम पैदा गरेर सर्वोच्च अदालतलाई दबाबमा पार्न खोजेको नेम्वाङले बताए। तर सरकारले घोषणा गरेको निर्वाचन समयमै हुने उनको दाबी छ। यस्तै प्रतिपक्षी काँग्रेसले निर्वाचनको तयारी गरिसकेको तर आफ्नो पार्टी भने पछाडि परेको नेम्वाङको भनाइ थियो।

‘देश त निर्वाचनमा गइसकेको छ। प्रतिपक्षी निर्वाचनमा गइसकेको छ। प्रमुख प्रतिपक्षको कार्यक्रम विरोध आन्दोलन कार्यक्रम हेर्नुस् त। प्रतिपक्षले सरकारको कदमको विरोध गर्नु अचम्मको कुरा होइन। उहाँले त्यो कार्यक्रम राख्दा पहिले आमसभा राख्नुभयो। त्यसपछि गाउँ नगरमा राख्नुभयो। हाम्रा प्रतिपक्षी प्रतिस्पर्धीले त निर्वाचनका काम भ्याइसक्नुभयो तपाईं हामीले धेरै काम गर्न बाँकी छ’, उनले भने।

नेम्वाङले सरकार काम चलाउन नभएको पनि दाबी गरेका छन्। ‘सरकारले अहिले सबै काम गर्न पाउँछ। यो कामचलाउ सरकार होइन’ उनले भने, ‘निर्वाचन आयोगले आचारसंहिता घोषण गरेपछि केही रोकिन सक्छ। तर, अहिले सरकारले सबै काम गर्न सक्छ।’

संसद् विघटनपछि प्रधानमन्त्रीले किन राजीजामा नदिएको भन्ने कुरा उठिरहेको छ उनले भने, ‘म भन्न चाहान्छु। अहिले प्रधानमन्त्रीले आफ्नो काम गर्न पाउनुहुन्छ। मन्त्रिपरिषद् पनि पुनर्गठन गर्न पाउनुहुन्छ।’ उनले सरकारले तोकेको मिती बैशाख १७ र २७ गते हुने दाबी गरे। ’संसद विघटनको बिषय विचाराधीन छ। म त्यस बिषयमा बोल्दिनँ’ उनले भने, ’तर, प्रधानमन्त्रीले बोल्न पाउनुहुन्छ। उहाँले नै संसद विघटन गर्नुभएको हो।’

आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गरे। ’पार्टीको प्रथम अध्यक्ष र महासचिव यही हुनुहुन्छ। त्यसैले उहाँहरुले आधिकारिक भन्ने पाउनुहुन्न’ उनले भने, ’पार्टी महासचिव नभएको बैठकले कसरी प्रथम अध्यक्ष र महासचिवलाई कारबाही गर्न मिल्छ ?’