नेकपाकाे माघ ९ मा जनप्रदर्शन, माघ १६ मा केन्द्रित जनसभा

CPN - Nepal Communist Party
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरको हो।

बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ। बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ। त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। बैठकमा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता कमरेड झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुशसहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ।

यसैगरि नेकपाले माघ १६ गते काठमाडौंमा केन्द्रीत जनसभा गर्ने भएको छ। यसअघि माघ २३ गतेका लागि तोकिएको सभा नेकपाले माघ १६ गते अर्थात् शहीद दिवसका दिन गर्न लागेको हो। नेकपाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमलाई घनिभूत बनाउँदै लैजाने पनि निर्णय गरेको छ।