केपी ओली सन्की महाराज हुन्ः माधव नेपाल

Madhav_Nepal
  • 328
    Shares
लोकपाटी न्यूज

दाङ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको जिब्रो खुकुरीको धारभन्दा तिखो भएको टिप्पणी गरेका छन्। दाङको तुलसीपुरमा आयोजित कार्यकर्ता भेलामा नेपालले केपी ओली सन्की शासक भएको आरोप लगाए।

उनले भने, ‘केपी ओली सन्की शासक बने। उनलाई वादविवाद कहिल्यै मन पर्दैन।’ ओलीलाई कसैको सुझाव र आलोचनभन्दा प्रशंसा मात्र चाहिने भन्दै नेता नेपालले ओली समूहलाई गुटको संज्ञा दिए। पार्टीभित्रको वादविवाद र अन्तरसंघर्षले पार्टी बिग्रिनेभन्दा पनि झन् बलियो बन्ने नेपालले तर्क गरे।

उनले भने, ‘केपी ओलीलाई टाउको हल्लाउने मान्छे मात्रै मन पर्छ। वादविवाद गर्नेलाई उनले सहँदैनन्।’ ओलीको सनकको कारण देश अप्ठ्यारो अवस्थामा फसेको उनले बताए। केपी ओलीले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनयन गरेकाहरू मध्य दुई सय जनाले केन्द्रीय सदस्य त्याग गरेको नेपालको दाबी छ।

‘सन्की महाराज केपी ओली हुन्। उनका हनुमान झन् खतरनाक बनेर निस्किएका छन्,’ उनले भने, ‘केपी ओलीका हनुमानले पार्टीमा अरूलाई कहिल्यै अवसर दिएनन्।’ संघर्षलाई अझ उचाइमा पुर्‍याउन कार्यकर्ताको साथ चाहिने उनले बताए।