शीतलहर पीडित भन्छन् : नेताहरू हालखबर सोध्न पनि आएनन्

  • 18
    Shares
लोकपाटी न्यूज

५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने न्यानो लुगा छैन। राति निद्रा नलाग्दा परालको घुरमा आगो बाल्छिन्। ताप्छिन्। फेरि केही छिन् निदाउँछिन्। उनको घरमा ढोका छैन। शीतलहर र हुस्सु घुस्छ।

उनका छिमेकी ६३ वर्षीया बेचनी सदाय चिसो भुइँमा च्यातिएको त्रिपाल ओछ्याउँछिन्। पातलो कम्बल ओढेर तीन नातिसहित रात जसोतसो कटाउँछिन्। चिसो बढेदेखि लहान नगरपालिका–२४ मानिकदह मुसहर बस्तीका स्थानीय राति निदाउन सकेका छैनन्। शीतलहरको कहरले विपन्न नागरिकलाई नराम्ररी सताएको छ। अधिकांशसँग न ओढ्ने छ न त ओछयाउने नै १ यहाँ मुसहरका ४७ घरपरिवार छन्।

‘छोराले चार वर्षअघि एउटा कम्बल किनेर दियो’, बेचनीले भनिन्, ‘मलगायत नातिहरू धर्मेन्द्र (११), राज (७) र राजु (६) त्यही ओढेर चिसो छल्ने गर्छौं।’ दलित जनकल्याण क्लबले गत वर्ष दिएको कम्बल घरमा आएका उनका छोरीज्वाइँले ओढ्छन्। नातिहरू भने चिसो छल्न मामाघर गएको बेचनीले सुनाइन्। ‘यहाँ घरमा पर्याप्त लुगा छैन। नातिहरू त्यही भएर मामाघर गएका छन्’, उनले भनिन्, ‘हामीलाई सरकारले केही सहयोग गरे हुन्थ्यो।’

अधिकांश समय घुर तापेर बिताउने गरेको रैबियाले बताइन्। उनले भनिन्, ‘घुर ताप्न पनि अर्काको जग्गाबाट पराल सोहोरेर ल्याउनुपर्छ। माग्न जाँदा दिँदैनन्। गाईवस्तुलाई खुवाउँछु भन्दै हप्काएर पठाउने गर्छन्।’ गरिब विपन्नलाई मद्दत गर्ने कोही नरहेको उनले दुखेसो पोखिन्।

‘हाम्रा छरछिमेक, आफन्त सबै गरिब छन्। जग्गाजमिन छैन। पढाइलेखाइ, जागिर केही छैन’, सोही ठाउँकी ६५ वर्षीया दनादेवी सदायले भनिन्, ‘हामीलाई सरकारसँग माग्ने बाटो मात्रै छ। यस्तो चिसोमा दुःख भोग्नुको सट्टा भगवान्ले आफ्नो घर लगे हुन्थ्योजस्तो लाग्छ।’ सहयोग गर्ने कुरा परै जाओस् भोट लिने नेताहरू हालखबर सोध्न पनि नआएको उनले सुनाइन्।

यहाँका गाउँबस्तीमा वृद्धवृद्धा र बालबालिकालाई चिसो छल्न समस्या भइरहेको छ। खाने, बस्नेदेखि ओढ्ने, ओछ्याउनेसम्मको समस्या छ। दैनिक मजदुरी गर्नेले काम गर्न पाएका छैनन्। सरकारले ओढ्ने कम्बल व्यवस्था गरिदियोस् भनेर विपन्न बस्तीका बासिन्दाको माग छ। शीतलहर पीडितका लागि नगरपालिकासँग राहत माग गरिएको वडाध्यक्ष कमलदेव यादवले बताए। ‘बस्तीबाट १५० परिवारलाई ओढ्ने कम्बल दिनुपर्ने माग गरेका छौँ’, वडाध्यक्ष यादवले भने, ‘तर, नगरपालिकाबाट केही प्राप्त भएको छैन। हामीले तथ्यांक पठाएका छौं।’ शीतलहरले विपन्नको बिजोग रहेको उनले सुनाए। लहानका मेयर मुनि साहका अनुसार नगरपालिकाबाट केही लाख बजेट विनियोजन गरिएको छ। तथ्यांक संकलन भइरहेकाले त्यसपछि न्यानो लुगा बाँडिने मेयर साहले बताए।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कात्तिक १९ गते नै कार्यविधिअनुसार स्थानीय तहमार्फत पूर्वपहिचान र पूर्वतयारीसम्बन्धी कार्यको निर्देशन दिइएको बताए। ‘बिरामी, सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई न्यानो लुगा बाँड्ने कार्य भइरहेको जानकारी जिल्लाभरिबाट प्राप्त भएको छ’, उनले भने ।

सातादेखि शीतलहर

एक सातादेखि चलेको शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। गत वर्षभन्दा केही ढिला सुरु भएको जाडोले भैरहवा, बुटवल, लुम्बिनी, मर्चवारलगायत स्थानका बासिन्दा प्रभावित बनेका छन्। यी क्षेत्रमा सातायता बदली भई घाम लागेको छैन। भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट विमान उडान–अवतरण अवरुद्ध हुन पुगेको छ। हप्तामा दुई दिन मात्र विमानस्थल सञ्चालनमा छ।

‘चिसो लाग्न थालेको एक हप्ता भइसक्यो तर आगो ताप्न काठको मुढासमेत दिन कोही आएको छैन’, ओमसतिया गाउँपालिकाका अच्युत आचार्यले भने। अत्यधिक चिसो बढेसँगै बालबालिका स्वास्थ्य समस्यामा पर्न थालेका छन्। न्यून आय वर्गका परिवार परालको आगोका भरमा जाडोयाम बिताउन बाध्य छन्। ‘चिसोमा हाम्रा बालबालिका कठ्यांग्रिँदै छन् तर नगरपालिकारसरकारलाई कुनै वास्ता छैन’, सिद्धार्थनगर नगरपालिकाका त्रिभुवन हरिजनले भने, ‘यस्तो चिसोको बेला कम्तीमा बालबालिकालाई न्यानो कपडा त वितरण गर्नुपर्छ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। जसअनुसार तराईमा सबैभन्दा कम न्यूनतम तापक्रम सिमरा र धनगढीमा ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ९।५, जनकपुरको ११.५, विराटनगरको ११.० र भैरहवाको ११.२ डिग्री सेल्सियस मापन गरिएको छ।

घुरको भर

मोरङको बूढीगंगा गाउँपालिका–३ की ५५ वर्षीया फेकनी रिसिदेव शीतलहरको चिसोबाट जोगिन घुर ताप्छिन्। उनी मात्र होइन, आफ्नो परिवारका सात सदस्यका लागि न्यानो ताप्न घुर (आगो ताप्न तयार पारेको पराल)कै भर छ। कोरोना भाइरसले गर्दा छोराहरू भारतमा काम गर्न जान नसकेकाले न्यानो लुगा किन्न नसकेको उनको भनाइ छ।

घुरका लागि पनि साहुबाट पराल र भुस मागेर ल्याउनुपरेको छ उनलाई। ‘स–साना नातिनी छन्, घुर नबाले चिसोले कठ्यांग्रेर ज्यान जाला भन्ने पिर हुन्छ’, उनले भनिन्, ‘कोही हाम्रो अवस्था बुझ्न आउँदैन।’ ५० वर्षीय हरिनारायण रिसिदेवले पनि यस्तै पीडा पोखे। ‘दुईरतीन जना परिवार मिलेर घुरमा बसेर दिन कटाउने गरेको छु,’ उनले भने, ‘काम पनि छैन, खान त ऋण नै लिनुपर्ने अवस्थामा कहाँ जाने र के गर्ने अन्योलमा छौं।’

नहरको डिलमा ऐलानी जग्गामा बसेका १ सय ५० घर सुकुम्बासी रिसिदेवको दिनचर्या यस्तै छ। वडा नम्बर ४ का ६८ वर्षीय शान्ति चौधरीले यो पीडा हालसम्म कसैले नबुझेको बताइन् । सँगै घुर ताप्ने लखन्तरी चौधरीले पराल जोगाएर राखेकाले चिसोबाट जोगिएको सुनाइन्। मालिक र साहुसँग जति गुहार मागे पनि लुगा किन्न पैसा नदिएको उनको भनाइ छ। ‘हामीलाई आगो बाल्न पराल दिन पनि आलटाल गर्छन्’, उनले भनिन्, ‘कम्तीमा दाउराको व्यवस्था मिलाइदिए चिसोबाट जोगिन सहयोग पुग्ने थियो।’ प्रदेश १ का तराईका जिल्लामा केही दिनयता निरन्तर हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित बनेको छ। हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार विराटनगरको न्यूनतम तापक्रम बिहीबार ९.८ डिग्री सेल्सियस थियो। शनिबार न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ। बिहान ८.१५ डिग्री सेल्सियस थियो। अन्नपर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्