पदको लोभमा ओलीतिर जानेहरूको पछुताउने दिन आउँछन्ः पुन

pun
  • 2.5K
    Shares
लोकपाटी न्यूज

बर्दिया। नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रूपमा काम गरिरहेकोप्रति आपत्ति जनाएका छन्। उनले आफैँ निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री ओली र उनका मन्त्रीहरू अलोकतान्त्रिक भएको टिप्पणी गरे।

संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उनले ओलीले पूर्ण अधिकार छ भन्ने अनैतिक र गैर संवैधानिक भएको टिप्पणी गरे। ‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो,’ पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो।’

मन्त्री पुनले कामचलाउ सरकारले संविधान र कानूनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे। एउटा गुट र व्यक्तिका लागि जे-जे भन्यो त्यही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ‘सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई काम चलाउन सरकारले दिएका निर्देशन संविधानसम्म छ कि छैन ? कानूनसम्मत छ कि छैन ? जनअभिमतअनुसार छ कि छैन ? भन्ने विचार गरेर मात्र गर्न म अनुरोध गर्छ,’ उनले भने, ‘एउटा गुटका लागि, एउटा व्यक्तिका लागि भोलि पछुताउनुपर्ने अवस्था नआओस्। म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु।’

संसद् विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै उनले संसद् पुनर्स्थापनापछि ती सबै सच्याइने बताए। ‘प्रतिनिधिसभा विघटनपछि गरिएका सबै नियुक्ति, सरुवा र महत्त्वपूर्ण निर्णय पुनर्स्थापनापछि तत्काल सच्याइनेछ। त्यसैले खबरदार त्यस प्रकारका र्गैरकानूनी कामहरू नहोउन,’ पुनले भने।

आइतबार बाँकेमा भएको कार्यकर्ता भेलालाई सम्बोधनमा पुनले प्रधानमन्त्री केपी ओलीले संविधान मिच्नुका साथै जनताको अभिमतमाथि कुठाराघात गरेको टिप्पणी गरे। असंवैधानिक रूपमा संसद् विघटन गर्ने ओलीको कदमले लोकतन्त्रमाथि चुनौती खडा भएको तथा मुलुकलाई प्रतिगमनतिर धकेलिएकाले आफूहरू बाध्य भएर संघर्षमा उत्रिएको पुनको भनाइ थियो।

तत्कालीन एमाले र माओवादी एकता गर्दा गरिएका समाजवाद, राष्ट्रिय पुँजी निर्माण, देश विकास र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली भागेको आरोप उनले लगाए। ‘नेपाललाई समाजवादको दिशामा लैजाने र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली र ओली गुट भागेको छ,’ उनले भने, ‘इतिहासमा ओली समूह कम्युनिस्ट आन्दोलन, विचार, विधि र निष्ठाबाट भागेको प्रवृत्तिका रूपमा दर्ज हुनेछ।’

पार्टीको विशाल पङ्क्ति प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा रहेको भन्दै उनले कार्यकर्ताले असंवैधानिक कदमलाई साथ नदिएपछि पदको आश्वासन बाँड्न थालिएको बताए। ‘कफी सपमा दूध चिया, कालो चिया, कालो कफी र दूध कफीको मेन्यू बाँडेजस्तै ओलीले भेराइटी-भेराइटीका पदको मेन्यू बाँड्दै हिँड्नुभएको छ,’ पुनले भने, ‘कसैलाई मन्त्री, कसैलाई प्रतिनिधिसभाको सांसदको टिकट, प्रदेशसभाको टिकट, महानगर/नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष र राजनीतिक नियुक्तिको प्रलोभन बाँडेर आफूतिर तान्ने प्रयास गरिरहनुभएको छ।’

तर, त्यसका बाबजुद पद प्रतिष्ठा बाँड्न सक्ने अवस्थामा नरहेका प्रचण्ड-नेपालको पक्षमा पार्टीको विशाल पङ्क्ति उभिएकाले अन्ततः निष्ठा, विचार र सिद्धान्त केन्द्रित राजनीतिको जित हुने निश्चित रहेको भनाइ उनको छ। ओलीले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा ब्युँताउने निर्णय गरे फेरि पार्टीमा फर्काउन सकिने उनले स्पष्ट गरे। ‘अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो हिँडेकामा पश्चात्ताप गर्दै संसद् पुनर्स्थापना गरेर आउनुहुन्छ भने हामी एकताको हात अघि बढाउन तयार छौं,’ उनले भने, ‘तर, केपी ओलीले त्यसो नगर्लान्। ओली घमण्ड र अहंकारमा डुब्नुभएको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिले उहाँलाई उचालेका छन्।’