आवश्यक परेमा संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौंः प्रधानन्यायाधीश

CholendraSamsher_jabara_Rana
  • 356
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद् विघटनविरुद्धको मुद्दामा आवश्यक परेमा संविधानसभामा भएको छलफलको रेकर्ड पनि मगाउने बताएका छन्। आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहसका क्रममा प्रधानन्यायाधीश जबराले आवश्यक परेमा संविधान निर्माण गर्दा संविधानसभा भएको छलफलका रेकर्ड मगाउँने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ रिट परेका छन्। सबै रिटमाथि संवैधानिक इजलासमा बहस चलिरहेको छ। बहसका क्रममा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान निर्माणका क्रममा संसद् विघटनबारे कस्ता व्यवस्था राख्न छलफल भएको थियो भनेर जान्नुपर्ने जिकिर गरेका थिए।

उनले भनेका थिए, ‘संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउनुपर्छ श्रीमान्। संविधान निर्माणका बेलाका कागजात मगाउनुपर्छ।’ जवाफमा जबराले संविधान निर्माणका बेला भएका छलफलको विवरण निवेदक सन्तोष भण्डारीले पनि उठाएको भन्दै त्यो मगाउन सकिने बताएका थिए। ‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन्। हामीले नोट गरेका छौं। आवश्यक परे मगाउँछौं,’ उनले भने।

बहसमा सहभागिता जनाउने कानुन व्यवसायीहरूलाई विषयको गाम्भीर्य मनन गरेर बोलिदिन पनि प्रधानन्यायाधीश जबराले आग्रह गरेका छन्। उनले समयको व्यवस्थापन कसरी गर्ने भन्नेबारे गृहकार्य भइरहेको जानकारी दिएका थिए। रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस जारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्