ओलीको गृहजिल्ला : प्रचण्ड-नेपालको लालकिल्ला !

Prachanda_Nepal
  • 4.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी अनौपचारिक रूपमा विभाजन भएपछि केही ठाँउहरु नेताहरूको लालकिल्लाका रूपमा स्थापित हुन् थालेका छन्। विगतमा चुनावमा नेकपाको गढका रूपमा मानिएको तेह्रथुममा पनि यसको गम्भीर असर परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुम प्रचण्ड-नेपालको पकड क्षेत्र बनेको छ। सोही जिल्लाका अधिकांश नेता कार्यकर्ता प्रचण्ड-नेपाल पक्षमा उभिएका छन्।

सो क्षेत्रमा ओलीको पक्षमा समर्थकहरूको संख्या घट्न थालेको छ। पूर्वी नेपालको वाम आन्दोलनमा तेह्रथुमको योगदान २०२८ सालको झापा विद्रोहदेखि माओवादीले गरेको १० वर्षे जनयुद्धसम्म उत्तिकै थियो। जिल्लाको समग्र नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्मको विश्लेषण गर्दा प्रचण्ड-नेपाल पक्षमा ८० र ओली पक्षमा २० को अवस्था देखिन आउने प्रचण्ड-नेपाल पक्षका एक केन्द्रीय नेताले दाबी गरे।

तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद भवानी खापुङ्ग प्रचण्ड-नेपाल पक्षमा लागेका छन्। उनी आफ्नो पक्ष बलियो बनाउन आफ्नो क्षेत्रका मतदातासँगको भेटघाट सँगै जिल्लाभर दौडधुपमा छन्। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जयन्ती राई, केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज दुर्गा चापागाईँ प्रचण्ड-नेपाल पक्षका जिल्लाकै खम्बाका रूपमा स्थापित छन्। जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीसहित जन निर्वाचित प्रतिनिधिहरू प्रायः प्रचण्ड-नेपाल पक्षमा लागेका छन्।

प्रतिनिधिसभाका समानुपातिक सांसद विजय सुब्बा भने पक्षतिर ढल्किएका छन्। जिल्ला समन्वय समिति संयोजक शिव ढुंगाना, जिल्ला सचिव इन्द्र ईमसङ्ग, पूर्व सांसद फुर्बी शेर्पासहितका नेताहरू अहिले तेह्रथुममै रहेर प्रचण्ड-नेपाल पक्ष बलियो बनाउनमा सक्रिय छन्। प्रदेशका २ सांसद भने एक-एक जना दुवैतिर बाँडिएका छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता हुँदा १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो। जसमा एमालेका ८२ र माओवादीका ५३ नेता थिए। अहिले पूर्व माओवादी खेमा एक ढिक्का नै छ। पूर्व एमाले पृष्ठभूमिका रहेका केही नेताहरू ओली पक्षमा खुलेका छन्।

प्रतिनिधिसभाका सांसद खापुङ्गका अनुसार पूर्व एमालेमध्येबाट पनि झण्डै २० प्रतिशत मात्रै नेताहरू ओली पक्षमा लागेका छन्। केही नेताहरू निर्वाचन आयोगको निर्णय र सर्वोच्चको फैसला कुरेर बसिरहेको उनले बताए। जिल्लाका ६ पालिका मध्य ५ ओटामा नेकपा विजयी भएको छ। जसमध्ये अहिले एक जना ओली पक्षमा खुलेका छन् भने ४ प्रचण्ड-नेपाल पक्षमा लागेका छन्। ७ सदस्यीय जिल्ला पार्टी सचिवालय सदस्यमा ६ जना प्रचण्ड-नेपाल पक्ष १ जना ओली पक्षमा लागेका छन्। कम्युनिस्ट आन्दोलनका आरके मैनाली, सिपी मैनाली, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली जन्मिएको ठाउँ समेत रहेको तेह्रथुम प्रचण्ड-नेपालको लालकिल्ला बन्न लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्