जहाजमा फेरि भ्रष्टाचारकाे खेल : मर्मत छाेडेर खरिदमा चलखेल

  • 79
    Shares
लोकपाटी न्यूज

नेपाल वायुसेवा निगमको प्रत्येकपटक आउने नेतृत्वले जहाज मर्मतभन्दा खरिदमा ध्यान दिने गरेको कारण आठ वर्षदेखि निगमको एउटा जहाज ह्याङ्गरमा थन्किएको छ । जुन सामान्य मर्मत गरेर दैनिक १० वटा उडान गर्नसक्ने अवस्थामा छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान गर्ने ट्विनअटर डिएचसी ६–३०० कलसाइन एबिएक्स जहाज ९ भदौ, ०६९ मा लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा सामान्य समस्या आएपछि ग्राउन्डेड गरिएको थियो । त्यसयता निगमको नेतृत्व मात्रै होइन, पर्यटन मन्त्रालयमा पनि दर्जनौँ मन्त्री तथा सचिव फेरिएका छन् । तर, सामान्य मर्मत गर्दा उडान गर्न सकिने जहाज आठ वर्षदेखि ह्याङ्गरमा थन्क्याएर राखिएको छ ।

जहाजको इन्जिनको साइनकल बाँकी नै छ । विङको लाइफ सकिएको छ । तर, सबै बडी तथा पार्टस्को परीक्षण गर्न भने जरुरी छ । त्यसका लागि निगमकै इन्जिनियरहरूसमेत रहेका छन् । जहाज मर्मत गरेमा दैनिक १० वटासम्म उडान गर्न सकिने इन्जिनियरहरू बताउँछन् । निगम सञ्चालक समितिका सदस्यसमेत रहेका नेपालको ट्विनअटर जहाजका वरिष्ठ इन्जिनियर अच्युतराज पहाडी जहाज मर्मत गरेर उडाउन सकिने अवस्थामा रहेको बताउँछन् । ‘जहाज मर्मत गरेर मज्जाले उडान गर्न सकिन्छ, तर नियतवश नगरिएको हो,’ पहाडीले भने ।

त्यही ट्विनअटर बिएचसी ६–३०० जहाज मोडलका दुईवटा जहाज कलसाइन एबिटी र एबियु जहाज भने अझै उडान गरिरहेका छन् । चारजना क्याप्टेन र सातजना कोपाइलट पनि रहेका छन् । निगम व्यवस्थापनले चाहने हो भने केही हप्तामै थप तीनजना क्याप्टेन तयार गर्न सक्छ । तर, नयाँ जहाज खरिदमा चासो दिने निगम व्यवस्थापनको प्राथमिकताका कारण आठ वर्षदेखि ग्राउन्डेड जहाज मर्मतमा बेवास्ता गरिएको छ ।

निगमको मर्मत–सम्भार विभागमा कार्यरत इन्जिनियरहरूका अनुसार जहाज व्यवस्थापनले चाहने हो भने १५ देखि २५ दिनभित्रमा उडानका लागि तयार पार्न सकिन्छ । जहाज मर्मतमा ४५ लाखदेखि ६० लाख रुपैयाँ लाग्ने अनुमान छ । ‘मर्मत गर्ने हो भने अझै पाँच वर्षभन्दा बढी सजिलै उडान गराउन सकिन्छ,’ एक इन्जिनियरले भने ।

निगम व्यवस्थापनमा मर्मतभन्दा नयाँ जहाज खरिदमा चासो हुँदा वर्षौँदेखि जहाज मर्मत हुन नसकेको ती इन्जिनियरले बताए । पछिल्लो समय क्यानेडियन कम्पनीले डिएचसी ६–४०० सिरिजका जहाज संसारभर बिक्री गरिरहेको छ । नेपालमा पनि निजी वायुसेवा कम्पनीहरूले सोही सिरिजका जहाज खरिद गरेका छन् । जसको मूल्य ६० करोड रुपैयाँ हाराहारी पर्नेछ ।

निगमले ०७१ मा आठवटा क्यानेडियन डिएचसी ६–३०० सिरिजका जहाज खरिद गरेको थियो । जहाज नेपाल आएपछि निगमले देशभरका पहाडी दुर्गम क्षेत्रमा झन्डै तीन दशक एकछत्र राज गरेको थियो । पछिल्लो समय निजी वायुसेवा कम्पनीको उदयसँगै निगम व्यवस्थापनको कमजोरीको फाइदा उठाउँदै निगमका जहाजलाई दुर्गम क्षेत्रबाट बिस्तारै विस्थापित गर्ने क्रम सुरु भयो ।

अझै यती समूहको यती एयरलाइन्स र सन् २००८ पछि तारा एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान गर्न थालेपछि निगम व्यवस्थापनमा यती समूह हाबी हुन थाल्यो । जसको फलस्वरूप सन् २०११ मा तारा एयरलाइन्सले दुईवटा जहाज भाडामै लगेको थियो । दुवै जहाज दुर्घटना भइसकेका छन् ।

निगम सञ्चालक समितिमा निजी हवाई कम्पनीका एजेन्टहरू हाबी रहेकाले निगमका जहाज मर्मतभन्दा खरिदमा चासो राख्ने गरेका छन् । जसका कारण वर्षौँदेखि जहाज मर्मत नै हुन सकेका छैनन् । अहिले पनि निगम व्यवस्थापनमा यती समूहका एजेन्ट फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेल नियुक्त गरिएको छ ।

निगममा मुख्य गरी दुर्गम क्षेत्रमा राज गरेको तारा एयरलाइन्सलाई ट्विनअटर जहाज मर्मत र खरिदमा उनीहरूको मुख्य चासो हुने गरेको छ । ‘निगमले सस्तोमा दुर्गम क्षेत्रमा उडान सुरु गर्न सकेमा तारा एयरलाइन्सको बजार हिस्सा गुम्ने चिन्ता हो, सोहीअनुसार व्यवस्थापन त्यतैतर्फ लाग्दा समस्या भएको हो,’ निगमका एक उच्च अधिकारीले भने ।

भदौमा नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका डिमप्रकाश पौडेललाई पनि मर्मत–सम्भार विभागका इन्जिनियरहरूले पटक–पटक भेटेर जहाज मर्मतका लागि आग्रह गरेका छन् । उनीहरूले जहाज मर्मत गरेर तीनवटा जहाजले उडान भर्दा दैनिक ३० वटा उडान दुर्गम क्षेत्रमा गर्न सकिने भन्दै सुझाब नै दिएका थिए ।

पौडेलले केही साताअघि पर्यटन मन्त्रालयलाई १० वर्षे व्यावसायिक योजना बुझाउँदै आन्तरिक उडानका लागि चारवटा ट्विनअटर जहाज खरिद गर्ने योजना नै पेस गरेका छन् । तर, अहिले दुईवटा उडान गरिरहेको जहाजले पनि यात्रु र गन्तव्य नपाउँदा दैनिक एक–एक उडान मात्रै गरिरहेका छन् ।

‘मार्केट विस्तार गर्नका लागि तीनवटा जहाज नै पर्याप्त छन्,’ निगमका एक अधिकारीले भने । निगम व्यवस्थापनले आन्तरिकतर्फ पनि सुगम र दुर्गम दुवै क्षेत्रमा उडान गर्नका लागि चार–चारवटा जहाज खरिद गर्ने योजना तयार पारेको छ । हाल आन्तरिक उडानका लागि ६ वर्षअघि खरिद गरिएका चिनियाँ ६ वटा जहाज ग्राउन्डेड गरिएका छन् ।

नयाँ योजनाअनुसार सन् २०२१ भित्रै दुईवटा एटिआर ७२ सिरिजका जहाज खरिद गरेर सुगम क्षेत्रमा उडान गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, सन् २०२२ मा थप दुईवटा जहाज खरिद गरेर एटिआर ७२ सिरिजका जहाज चारवटा बनाउने लक्ष्य राखिएको छ । यता दुर्गम क्षेत्रमा उडानका लागि ट्विनअटर वा भाइकिङ सिरिजका जहाज सन् २०२३ मा दुईवटा र सन् २०२४ मा दुईवटा गरेर चार जहाजमार्फत दुर्गम क्षेत्रमा सेवा दिने लक्ष्य निगमले राखेको छ ।

निगम पछिल्लो समय वार्षिक पाँच अर्ब घाटामा छ । पुस मसान्तमा सञ्चयकोषलाई तिर्नुपर्ने ६८ करोड तिर्न सकेको छैन । चारवटा जहाजको ब्याज मात्रै चार अर्ब ७१ करोड आठ लाख ६ हजार तीन सय २४ रुपैयाँ बाँकी छ । भुक्तानी गर्न बाँकी ब्याजलाई सावाँमा गाभ्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव निगमले गत वर्ष नै पठाएको छ । तर, अहिलेसम्म सावाँमा गाभिएको भने छैन ।

निगमले हालसम्म एक अर्ब ३१ करोड ६ लाख रुपैयाँ मात्रै किस्ता भुक्तानी गर्न सकेको छ भने हालसम्म ०७२ देखि ०७७ सम्म ब्याज र किस्ता पाँच गरेर पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । चारवटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ रहेको छ । दुईवटा ३२० जहाजको नौ अर्ब ९८ करोड ११ लाख रहेको छ भने दुई थान ३३० जहाजको २३ अर्ब ९९ करोड ६१ लाख छ । निगमले सञ्चयकोष र नागरिक लगानीकोषसँग ३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्