वामदेवले मागे ओली खेमाको पार्टी अध्यक्ष

Bamdev-Gautam
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा विवादमा कतै नखुलेका नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीसँग पार्टी अध्यक्ष मागेका छन्। ओलीलाई प्रधानमन्त्री चलाउन र अध्यक्ष पद भने आफूलाई दिन वामदेव गौतमले माग गरेको खुलासा भएको छ। गौतम स्वयंले यो खुलासा गरेका हुन्। ‘म कतै लागेको छैन, नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर हिँडेको छु, पार्टी एक बनाउनै मेरो कोसिस छ,’ दुवै खेमामा नेकपाको उपाध्यक्ष रहिरहेका गौतमले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई तपाई प्रधानमन्त्री चलाउनुस्, मलाई पार्टी अध्यक्ष दिनुस् भनेको छु।’

गौतम प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित हुन पुगेको नेकपाको कुनै खेमाको बैठकमा पनि सहभागी भएका छैनन्। उनलाई तानातान गर्न दुवै पक्षले अथक प्रयास गरे पनि उनी दुवै तिरका भेला र बैठकमा नगएपछि अहिले उनलाई तान्ने प्रयासमा नेताहरू जुट्न छोडेका छन्। गौतमले भने आफ्नो तर्फबाट अझ एकता प्रयास अन्तिम सम्म जारी राख्ने बताएपछि उनी अहिले आफ्नै अभियानमा जुट्न थालेका छन्।

कतिपयले गौतमलाई विगतका साथीहरूले छोडेपछि र अहिले एक्लो बनेपछि कुन समूहमा लाग्दा आफूलाई फाइदा पुग्छ र त्यसका लागि आफ्नो पछि नयाँ नेताहरूको जमघट बनाएर पदको बार्गेनिङ तिर लागेको आरोप पनि लाग्न थालेको छ। आफ्नो नयाँ गुट जन्माउन उनले पार्टी एकता राष्ट्रिय अभियानका नाममा दुवै खेमामा बार्गेनिङ गर्न खोजेको आरोप लागिरहेका बेला गौतमले केपी ओलीसँग भने आफ्नो लागि अध्यक्ष पद दिन माग गरेको खुलासा गरेका हुन्।

‘मैले प्रधानमन्त्रीसँग अध्यक्ष पद मागेकै हो, तर त्यो पार्टी एकता गराउने उद्देश्यका साथ मागेको हुँ,’ गौतमले भने, ‘त्यसो हुँदा प्रधानमन्त्रीमा ओली रहन्छन्, म अध्यक्ष भए प्रचण्ड नेपाल समूहलाई पनि एकतामा आउन अपिल गरेर पार्टी एकता गराउँथे।’ नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ। प्रचण्ड नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्ष पदबाट हटाई माधव नेपाललाई अर्को अध्यक्ष बनाइसकेको छ।

ओलीलाई थप कारबाहीको लागि तपाईंलाई साधारण सदस्यसम्मबाट किन नहटाउने भन्ने अहिले स्पष्टीकरण सोधिएको अवस्था छ। गौतमले भने जस्तो उनले पनि अध्यक्ष दाबी गरे ओली खेमामा पनि ओली र गौतम दुई अध्यक्ष हुने चर्चा पनि चलेको छ। तर ओली खेमाले एकल अध्यक्ष मात्र बनाएर जान चाहिरहेको छ। गौतमलाई ओलीले अध्यक्ष छोडे पनि एकताका क्रममा झन् तीन अध्यक्ष हुने अवस्था अहिले देखा परेको छ। यस्तो बेला के गर्ने ? भन्ने जिज्ञासामा गौतमले आफू एक्ल अध्यक्षकै अवधारणामा जान चाहेको र त्यसका लागि प्रचण्ड, नेपाल र गौतम जसलाई अध्यक्ष बनाए पनि हुने उनको तर्क छ।

गौतमले ओलीलाई अध्यक्ष छाडेर प्रधानमन्त्री मात्र बन्न आग्रह गरे पनि गौतमको त्यस्तो प्रस्ताव ओलीले अस्वीकार गरिदिएका छन्। ‘म निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दै छु, यस्तो बेला चुनावमा जान लागेको सिपाहीले डिमरलाइज भएर जान चाहँदैन, यो बेला तपाईँले भने जस्तो अध्यक्ष पद छोड्न सकिँदैन,’ ओलीले गौतमलाई जवाफ दिएका छन्। नेकपामा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको प्रश्न उठेपछि विवाद चुलिएको थियो।

ओलीलाई पार्टी या सरकार मध्ये एकबाट पार्टीका अरू शीर्ष नेताहरूले हटाउन चाहेपछि ओलीले बरु कुर्सी भाँचिदिन्छु पद छोड्दिन भनेपछि अहिलेको यो अवस्था निम्तेको हो। ओलीले आफ्नो कुर्सी बचाउनकै लागि संविधानमा समेत नभएको अधिकार निरंकुश र तानाशाही शैलीमा प्रतिनिधिसभाको हठात् विघटनको निर्णय लिएका थिए। ओलीको यो प्रतिगमन सही या बेठिक भन्नेमा अहिले सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ। यसमा बहस जारी छ।

गौतमले भने ओलीले अध्यक्ष पद छोडे फेरि पार्टी एकता हुन सक्ने बताएका छन्। पार्टी एकता हुने शर्तमा उनले नेकपाको दुवै खेमामा आफूले शर्त पनि राखेको बताएका छन्। ओली खेमामा पुगेर गौतमले ओली, आफू र ईश्वर पोखरेल तथा प्रचण्ड नेपाल समूहमा पुगेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष बन्न छोडेर संरक्षकका रूपमा रहने र अर्को नेतालाई पार्टीको नेतृत्व सुम्पने गरी पार्टी एकता गर्न शर्त राखेको पनि बताए। तर गौतमको त्यस्तो प्रस्ताव निरर्थक हुने देखिएको छ। गौतमले भने पार्टी एकता नहुँदासम्म आफू तटस्थताकै नीतिमा रहने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्