पहिले संविधानको रक्षा गरौं, अनि मात्र चुनावमा जाऔंः पौडेल

Ramchandra_Poudel
  • 630
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। लोकतन्त्रको चीरहरण हुँदा काँग्रेस चुप लागेर नबस्ने उनको भनाइ छ।

सोमवार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’ पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने बताउँदै आएका छन्।

वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन्। उनले भनेका छन्, ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ।’

काँग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुवै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै काँग्रेस सडकमा ओर्लिएको छ।