भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भएको छ : रेनु दाहाल

Renu Dahal
  • 124
    Shares
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको बताएकी छिन्।

भरतपुर महानगरपालिका वडा नम्बर २२ कमलपोखरीस्थित पटिहानीमा घरेलु उपज प्रदर्शनी कक्षको सोमबार शिलान्यास गर्दै मेयर दाहालले महानगरले पर्यटन र कृर्षिलाइ एकीकृत रूपमा विकास गरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताएकी हुन्।

कार्यक्रममा बोल्दै दाहालले पर्यटकीय क्षेत्रको रुपमा विकाश हुँदै गइरहेको पटिहानीमाऔद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको बताइन्। यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिबिधिमा बढावा दिने साथै स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो।

प्रमुख दाहालले भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर बिकासको क्षेत्रमा कृयाशील रहेको बताउँदै यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई आग्रह गरिन्। मेयर दाहालले अबका दिनमा महानगरपालिका बिकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै सम्पूर्ण आयोजनाहरू आफ्नै कार्यकालमा पूरा गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिइन्।

जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए। डल्लाकोटीले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिबिधिहरूको विकास र विस्तारमा सहयोग हुने उल्लेख गरे।

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिब डा. सिन्धुप्रसाद ढुब्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिरहेको बताउँदै निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा सहयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनी कक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनी कक्षका बारेमा आफ्नो धारणा राखेका थिए। वडा नम्बर २२ को कार्यालय परिसरमा निर्माण हुने औद्योगिक प्रदर्शनी कक्ष ९१ लाख रुपैयाँको लागतमा एक बर्षभित्र निर्माण सम्पन्न हुने छ। प्रदर्शनी कक्षले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्