सूर्य चिह्न हाम्रै हो, ओलीको भागमा अस्ताउँदो सूर्यः नेपाल

Madhav_Nepal
  • 930
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउन सोमबार (आज) अन्तिम स्पष्टीकरण पत्र पठाइने बताएका छन्। काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा नेपालले ओलीलाई तह लगाउने अरु कुनै उपाए नभएकोले उनलाई अन्तिम स्पष्टीकरण पत्र पठाइने बताएका हुन्।

‘सुःखद् कुरा भनौं कि दुःखद् कुरा, आजै केपी ओलीजीलाई अन्तिम स्पष्टीकरण पत्र पठाइरहेका छौं। तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो। तपाईंलाई मौका दिएका थियौं,’ नेपालले भने, ‘कमसेकम अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं। तपाईंलाई सचिवालय, स्थायी कमिटीसम्ममा पनि राख्थ्यौं होला। गल्ती सुधार गर्नुभएन। तपाई झनै मैमत्त हुँदै जानुभयो। उफ्रिदैं जे पायो त्यही बोलिरहनुभएको छ। तपाईंलाई तह लगाउने कुनै उपाय रहेन।’

माघ २ मा बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको भन्दै उनी कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नरहेको बताए। ओलीलाई अझै सुधार्न सकिन्छ कि भनेर पार्टीका केही नेताहरुले अझै प्रयत्न गरेको भन्दै नेपालले त्यो व्यर्थ रहेको दाबी गरे।

प्रधानमन्त्रीले संसद विघटन गरेको कदमलाई सबै पार्टीले विरोध गरिरहेका बेला एकातिर सिंगो देश र अर्को तिर केपी ओली एक्लो टुहुरो बनेको पनि नेता नेपालले टिप्पणी गरे। ‘ओलीको कदम विरुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेको छ। सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएका छन्। यस्तो अवस्थामा ओलीले करी मुख कसरी देखाउँछन् ?’ उनले भने।

यस्तै ओली कामचलाउ प्रधानमन्त्री बनिसकेको पनि उनको दावी छ। र उनी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने नेपालको भनाइ छ। यसबीचमा ओलीले पद बचाउन अझै अरु असंवैधानिक कदम चाल्नसक्ने र संकटकाल समेत लगाउनसक्नेमा चिन्ता व्यक्त गरे। आफूहरुसँग स्पष्ट वहुमत भएको र सूर्य चिह्न आफूहरुकै भएको उनको दावी थियो। उनले भने, ‘ओलीले अस्ताउँदो सूर्य चिह्न पाएका छन्। उदाउँदो सूर्य चिह्न हामीले पाउँछौं। उनले नेकपा एमाले पाइसकेका छन्। हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाउँछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्