मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन सांसदले लिए हस्ताक्षर फिर्ता

Sherdhan Rai-3
  • 39
    Shares
लोकपाटी न्यूज

मोरङ। मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन्। सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका हुन्।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए। प्रदेशसभा सचिवालयमा इमेलमार्फत पठाएको पत्रमा नेकपाका सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख छ।

उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं।’ यसअघि प्रदेससभा सदस्य कला घले र वसन्तिदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन्।

उनीहरुले औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा पत्र भने दर्ता गराएका छैनन्। नेकपाको प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन्। प्रदेशसभा सचिवालयले बैठकको तयारी गरिसकेको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेशसभा सचिवालयले माघ ७ गते दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारीमा जुटेको छ। सचिवालयले बैठकमा अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीहरुलाई फलामको पातामा वाइल्डिङ गरिरहेको छ। बैठक कक्षमा नेकपा औपचारिक रुपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखेको छ। दर्शकदीर्घा र पत्रकारहरुका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिव पराजुलीले बताए। उनले उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्