धेरै अनुदान परिमार्जन गर्छौं, केही बन्द नै गर्छौं : मन्त्री अर्याल

Padma Aryal-11
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं, ५ माघ। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छिन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाइ छ। मन्त्री अर्यालले भनिन्, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं। वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउँछौं। आगामी फागुनदेखि यो कार्यक्रम द्रुत रुपले अगाडि बढ्छ।’

किसानहरुको हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने बताउँदै उनले किसानहरुको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पूरा गर्न नसक्ने बताइन्।

कृषि मन्त्रालयमार्फत वितरण गरिँदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने बताउँदै उनले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताइन्। ‘अनुदानका कार्यक्रमहरु जति पनि सञ्चालन भएका छन्, तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ। कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘अहिले जसरी अनुदान कार्यक्रमहरु सञ्चालन भएका छन्, त्यो कतिपय कार्यक्रमले उचित प्रतिफल दिन सकेन।’

किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडि बढाइसकेको भन्दै उनले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताइन्। देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरि चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको भन्दै उनले अबका दिनमा मल अभाव नहुने गरी मन्त्रालय अगाडि बढेको बताइन्।

‘माघको अन्तिमसम्ममा आफ्नो स्थानीय तहमा कति मल चाहिन्छ भनेर माग पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अब किसानहरुलाई मलको अभाव नहुनेगरी मन्त्रालय अगाडि बढेको छ। हामी किसानहरुलाई आवश्यक पर्ने मल समयमै आपूर्ति गर्छौं। मन्त्रालयले कामको थालनी गरिसकेको छ।’