वीरगञ्जमा महेश बस्नेत : कार्यकर्ता उपस्थित नभएपछि निराश भएर फर्किए

Mahesh_Bashnet
लोकपाटी न्यूज
0 Shares

वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड-नेपाल हिँडेको बाटोले नेपाललाई दुर्घटनातिर लैजाने बताएका छन्। सोमबार वीरगञ्जमा आयोजित बृहत् युवा भेलामा नेता बस्नेतले गलत बाटो छोडेर प्रधानमन्त्री ओलीलाई समर्थन गर्न अनुरोध समेत गरे।

उनले भने, ‘प्रचण्ड जुन बाटोमा हिँड्नु भएको छ त्यो बाटोले नेपाललाई विकास तिर होइन, विनाशतिर लैजाने छ। त्यसैले प्रचण्ड र माधव कमरेडले केपी ओलीलाई समर्थन गर्न अनुरोध गर्छु।’ बस्नेतले नेपालको राज नेता केपी ओली मात्र भएको दाबी पनि गरे। त्यसकारण पार्टी अध्यक्ष र सरकारको नेतृत्वमा ओली रहिरहन आवश्यक रहेको उनले बताए।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले मात्र नेपालको भूमि फिर्ता ल्याउने सक्ने दाबी गरे। उनले भनेका छन्, ‘नेपालको नक्सा घटाएर होइन कि बढाएर नयाँ नक्सा जारी गर्नुभयो। नेपालको लिम्पियाधुरा लिपुलेकलाई फिर्ता ल्याउन साहस राखेर उहाँ अगाडि बढ्नु भएको छ।’ जनयुद्धको बेला जस्तो अब प्रचण्डसँग कोही नडराउने नेता बस्नेतले बताए।

उनले भने, ‘प्रचण्ड माओवादीको पालामा जे मन लाग्यो त्यो गर्नु भयो। अब त्यो सम्भव छैन। अहिले जनता डराउँदैन। बरु उल्टै लखेट्ने छन्।’ बस्नेतले सरकार सञ्जाल गर्न नसकिने अवस्था आएपछि प्रधानमन्त्री ओलीले संसद् विघटनको बाध्यात्मक कदम उठाउनु परेको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीले सरकार चलाउन नदिएपछि संसद् विघटन गर्नु भएको हो। पाँच वर्षमा जनता समक्ष जानु पर्ने भए पनि तीन वर्षमै यस्तो अवस्था आएको छ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा रहेकोले अदालत जे निर्णय गर्छ त्यो सबैले मान्नु पर्ने उनले बताए। वीरगन्जमा आयोजित ओली निकट राष्ट्रिय युवा सङ्घको बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पर्सा पुगेका बस्नेत कार्यकर्ताको उपस्थितिलाई लिएर निराश बनेका छन्। उनी उपस्थित भेलामा कार्यकर्ताको उपस्थिति भने उत्साहजनक हुन सकेन। कार्यकर्ताको उपस्थिति न्यून रहेकोले नेता बस्नेत निराश बनेर फर्किएको नेकपाका एक नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्