काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको छ।
समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटिर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ। अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ।
डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७-७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ। यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।