आम हड्तालसम्म पुग्दा हामीले जितिसक्छौ-प्रचण्ड

Prachanda New photo
  • 801
    Shares
लोकपाटी न्यूज

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आम हड्ताल गर्नेसम्म जानसक्नु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको कदमविरुद्ध आमहड्तामा गएर भएपनि ब्याटल जित्ने बताएका हुन् ।

‘हामी आन्दोलन बढाउँदै लान्छौं । ९ गते, १६ गते, २३ गते आन्दोलन गर्छौं । १६ गतेसम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, ‘त्यो तयारी पनि हामी गरिराखौं । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं । हामीले यो ब्याटल नजिती हुँदैन ।’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको भन्दै दाहालले अहिले त्यसलाई एउटा खलनायकले जबर्जस्ती मार्ने प्रयत्न गरेको दाहालले बताए ।

कार्यक्रममा दाहालले सिंह र भेडाको कथा सुनाउँदै भने, ‘भर्खर जन्मेको सिंहको बच्चा आफ्नो आमाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ । त्यो सिंहको बच्चा भेडाको बच्चासँग हिँड्न थाल्यो । उनीहरूसँग हिँड्दा हिँड्दै सिंह पनि भेडोभेडो हुन थाल्यो । त्यसले पनि घाँस खान थाल्यो । भेडा जसरी भ्या-भ्या गर्न थाल्यो । एकदिन साँच्चै उसको आमा आएर हेर्दा शरीर त सिंह भयो । बुद्धिचाहिँ भेडाको भयो । अर्को सिंहले सिंह भेडो भएको मन परेन।।।अनि त्यो सिंहले भेडो भएको सिंहलाई पानीमा अनुहार देखाइदियो । अनुहार हेरेपछि त्यसले आफू सिंह रहेको थाहा पाउँछ र बेसरी गर्जिन्छ ।’

दाहालले आफूहरू सिंहको सन्तान बताउँदै ओली जस्ता भेडाहरूको संगत गरेको बताए । उनले भने,’केपी ओली जस्ता भेडाहरूको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो? एकपटक ऐना अगाडि उभिएर हेरौं, हामी सिंहका सन्तान हौं भनेर जुरुक्क गर्जियो भने त भने केपी ओली जस्ता भेडाहरू त।’

दाहालले तत्कालीन एमालेमा जनताको बहुदलीय जनवाद छोड्ने नेता ओली भएको बताए । ‘उहाँ किन मान्नु भयो होला त्यतिबेला, मलाई आश्चर्य लाग्छ । पार्टी एकता गर्दा जबज छोडिएको छ, राजनीतिक प्रतिवेदनमा । २१ औं शताब्दीको जनवाद छोडिएको छ । माओवाद पनि छोडिएको छ । र समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ । त्यसमा हस्ताक्षर केपीले किन गरेको होला ?,’ दाहालले भने, ‘आज उहाँ फेरी मदन भण्डारी फाउन्डेसनको नाममा जबज तिरै फर्कनु थियो भने । तत्कालीन एमालेमा जबज छोड्ने पहिलो व्यक्ति केपी नै हुन्।’

त्यतिबेला देशमा राजनीतिक स्थायित्व, विकास, समृद्धिका लागि ओलीले रचनात्मक रुपले सोच्न थालेछन् कि भन्ने भएपछि आफूले पनि हस्ताक्षर गरेको दाहालले बताए । तर, त्यतिबेला ओलीको हस्ताक्षर किर्ते रहेको महसुस भएको पनि उनले बताए ।

‘म त अहिले त्यही हस्ताक्षरमा दृढ छु । माधवजीपनि त्यही हस्ताक्षरमा दृढ हुनुहुन्छ । तर केपीजी त्यो सबै लत्याएर, जाँदा जाँदा संविधानमाथि कुठाराघात, संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा हाल्ने ठाउमा पग्नु भयो । अहिले लाग्छ उहाँले हस्ताक्षर गरेको त्यो किर्ते रहेछ, जाली हस्ताक्षर रहेछ । साँचो हस्ताक्षर गर्ने मान्छे यस्तो अपराध गर्ने हुन सक्दैन,’ दाहालले भने ।

अदालत र निर्वाचन आयोगमाथि भरोसा रहेपनि आफूहरू जनताको अदालतमा जान चाहेको दाहालले बताए । उनले भने, ुसंविधानको भावना अनुसार निर्णय हुनेमा विश्वस्त छौं । सर्वोच्च अदालतमा कानुनका साथीहरू हुनुहुन्छ । हामी जनताको अदालतमा जान चाहन्छौं । सूर्य चिह्न हामीले नै पाउँछौं । त्यसमा शंका गर्नुपर्दैन ।’ ओलीले संसद् विघटन नभई संविधान र संघीय लोकतान्त्रीक गणतन्त्र विघटन गरेको दाहालको भनाई थियो ।

‘केपी ओलीले विघटन गरेको संसद् हैन । उनलाई त्यसको अधिकार छैन । ओलीले गरेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो । त्यसकारण एकपटक फेरी त्यसको रक्षाको लागि संघर्षको मैदानमा उत्रिनुको विकल्प छैन,’ दाहालले भने, ‘हामी ढिलो नगरी जनताको अदालतमा जानु पर्नेभयो । यसो हेर्दा लक्षण गतिलो देखिएन । जनताको अदालतले सर्वोच्च र निर्वाचन आयोगलाई पनि सजिलो होला ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको भन्दै दाहालले अहिले त्यसलाई केपी ओली खलनायकले खोसेर जबर्जस्ती मार्ने प्रयन्त गरेको बताए । ‘अहिले एक चोटी फेरी पुरै दुनियाँ नेपाली जनता आफैले लडेर ल्याएको परिवर्तनको अपनत्व लिन बिर्से कि के गरे भनेर हेर्दै छ । हामीले पुरै दुनियाँलाई देखाउनु पर्ने छ । हामीले रगत पसिना बगाएर जन्माएको बच्चाको हत्या हुँदैछ,’ दाहालले भने, ‘उसलाई आईसीयूमा राखिएको छ, मार्ने षडयन्त्र खोजिएको छ । आफूले जन्माएको बच्चा मार्न लाग्दा हामी हेर्न सकिँदैन । मार्न लागिएको बच्चाको रक्षाको निम्ति जस्तो सुकै मूल्य चुकाउन तयार छौं ।’