काठमाडौँ — भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप सम्भवतः बिहीबार नै काठमाडौं आइपुग्ने पक्कापक्की भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ । भारतले दिन लागेको खोप बारे जानकार उच्च सरकारी स्रोतका अनुसार यसबारे थप जानकारी दिन बुधबार दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बुधबार स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्ने सूचनाको पुष्टि गरे । तर, उनले कति संख्यामा खोप आउँछ र कहिलेसम्ममा आउँछ भन्ने विषयमा भने जानकारी दिन नसक्ने बताए ।
भारतीय दूतावासका प्रेस सेक्रेटरी नविन कुमारले पनि भारतले नेपाललाई खोप दिन लागेको सूचनाको पुष्टि गर्दै थप जानकारी बुधबार हुने पत्रकार सम्मेलनमै जानकारी दिइने बताए । ‘भारतीय विदेश मन्त्रालयले नै छिमेकी मुलुकलाई खोप दिन लागिएको बताइसकेको छ । बाँकी औपचारिक जानकारी भोली पाउनुहुन्छ । धैर्य राख्नुहोस् ।’
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा पनि नेपाललगायत छिमेकी देशहरु बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको उल्लेख छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा बेलायती औषधि निर्माता कम्पनीले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका बेला नेपालले भारत सरकारसँग ३ प्रतिशत जनसंख्यालाई पुग्ने खोप माग गरिएको थियो । ‘भारतमा पनि फ्रन्टलाइनरलाई खोप दिन सुरु गरिएको हो । हामीले पनि त्यही अनुरुप नै माग गरेका हौं । त्यो भनेको ९ लाख ११ हजार डोज हो,’ स्रोतले भन्यो, ‘दुईपटक लगाउनुपर्ने खोप भएकाले खेर जाने संख्यासहित २१ लाख डोज हामीलाई चाहिन्छ । सायद त्यसैको आसपास नै हुन्छ होला ।’
सचिव अर्यालले खोपको संख्याको बारेमा खुलेर नबोले पनि भारत सरकारसँगको छलफल बारे जानकार उच्च सरकारी स्रोतका अनुसार नेपालले फ्रन्टलाइनरसहित कम्तिमा ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने गरेर खोप दिन आग्रह गरेको थियो । उनका अनुसार कुल ४७ लाख डोज खोप भयो भने नेपालले उच्च जोखिममा रहेकाहरुलाई सुरक्षित बनाउन सहज हुने तर्क अगाडि सार्दै नेपालले खोप व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । ती उच्च स्रोतका अनुसार अनौपचारिक कुराकानीमा भारतले नेपाललाई केही खोप उपहार कै रुपमा र केही खोप भने सहुलियत दरमा उपलब्ध गराउन सकारात्मक रहेको प्रतिक्रिया दिएको थियो ।
सचिव अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । ‘हामीले अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,’ उनले भने ।