काेराेना खाेप ल्याउनेदेखि लगाउनेसम्म यस्ताे छ सरकारी तयारी

Corona_Vaccine
  • 9
    Shares
लोकपाटी न्यूज

सारका विभिन्न देशले कोभिड–१९ विरुद्ध खोप धमाधम लगाउन थालेसँगै नेपालमा पनि तयारी सुरु भएको छ । सरकारले विदेशबाट खोप ल्याउनेदेखि नागरिकलाई लगाउनेसम्मका विभिन्न तयारी थालेको छ ।

विदेशबाट खोप ल्याउन सरकारले सात मुलुकलाई दुई महिनाअघि कूटनीतिक नोट पठाएर अनुदानमा खोप पठाइदिन आग्रह गरेको छ । तीमध्ये भारतले नेपालसहित छिमेकी र निकट साझेदार मुलुकलाई खोप आपूर्ति गर्ने घोषणा गरेको छ । अन्य देशले नेपालको मागबारे आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन् । खोप आउने सुनिश्चित नभए पनि स्वास्थ्य मन्त्रालयले तीन चरणमा खोप लगाउने गरी तयारी अघि बढाएको छ भने खोपको भण्डारणका लागि बन्दोबस्त मिलाउन थालेको छ ।

भारतले छिमेकी तथा साझेदार मुलुकहरूलाई कोभिडविरुद्धको खोप अनुदानमा दिने सोमबार घोषणा गरेको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, सम्बन्धित मुलुकहरूको अनुरोधका आधारमा भारतले अनुदान सहायतामा नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप दिनेछ । खोप दिने प्रक्रिया मंगलबारबाटै सुरु भएको छ । श्रीलंका, अफगानिस्तान र मोरिससलाई खोप दिन आवश्यक नियमन जाँच प्रक्रिया सुनिश्चित गर्ने क्रममा रहेको विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १–३ माघसम्म भारत भ्रमणका क्रममा नेपालका तीन प्रतिशत जनतालाई पुग्ने खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । भारतले सकारात्मक जवाफ दिँदै घोषणा गर्न लागेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप दिने देखिएको छ । नेपालले पहिलो चरणमा ४७ लाख डोज उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ ।

खोप उत्पादन गर्ने कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया खोप दिन सकारात्मक देखिएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभिसिल्ड खोप सहुलियत मूल्यमा उपलब्ध गराउन सम्भव नभए भारतले किनेको दरमा नेपाललाई दिन अनुरोध गरेको छ ।’ भारतले दुई सय भारतीय रुपैयाँमा प्रतिडोजमा किनेको अधिकारीहरूले बताएका छन् ।

नेपालमा हाल प्रयोग भएका नियमित खोप पनि अधिकांश सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । त्यसैले, ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिएको छ ।

कूटनीतिक नोटले आउला त खोप ?
सरकारले दुई महिनाअघि भारतसँगै चीन, अमेरिका, रुस, बेलायत, जर्मनी र फ्रान्सलाई अनुदानमा खोप उपलब्ध गराइदिन कूटनीतिक नोट पठाएको थियो । ‘कूटनीतिक नोट पठाएर खोप आउँदैन, पैसाको नोट पठाएर खरिदका लागि पहल गर्न ढिलो भइसकेको छ,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पहिला अनुदानमा कति खोप पाइन्छ, त्यसपछि आवश्यक परे किनौँला भनेर बसेका छौँ, हामीले पत्राचार गरेका अधिकांश मुलुकहरू खोप दिने मुडमा देखिँदैनन् ।’

छिमेकी भारतले तीन प्रतिशत नेपालीलाई खोप अनुदानमा उपलब्ध गराउने वचन दिएको छ । त्यसका लागि समझदारीपत्रको मस्यौदा पनि आदान–प्रदान भइसकेको छ । भारतले दिने खोपबारे बुधबार घोषणा हुने भएको छ ।

अर्को छिमेकी चीनले पनि खोप अनुदान दिने विषयमा निर्णय प्रक्रियामै रहेको जवाफ दिएको छ । चीनबाट प्राप्त जवाफ अमूर्त रहेको परराष्ट्रका अधिकारीको भनाइ छ । अमेरिकाले खोपबारे थप छलफल गर्न तयार रहेको जवाफ पठाएको छ भने बेलायत, रुस, फ्रान्स र जर्मनीबाट पनि कुनै ठोस प्रतिबद्धताविनाको जवाफ आएको परराष्ट्रका एक अधिकारीले बताए ।

परराष्ट्रले अनुदानमा खोप मागेका मुलुकहरूमा रहेका नेपाली कूटनीतिक नियोगलाई खोपका लागि फलोअप गर्न निर्देशन दिएको छ । ‘हामी निरन्तर फलोअपमा छौं, तर कूटनीतिक नोटले मात्रै पुग्ने स्थिति छैन, सरकारसँग छलफल गर्ने भन्दा पनि सम्बन्धित खोप उत्पादनकर्ताहरूकहाँ गएर खरिद प्रक्रिया नथाल्ने हो भने खोप आउने अवस्था देखिँदैन,’ बहालवाला एक नेपाली कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । खोप खरिदका लागि परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुंगानाको संयन्त्र गठन भएको छ । तर, सुरुमा कति अनुदानमा आउँछ, त्यसका आधारमा थप खोप खरिद गर्ने मुडमा सरकार छ ।

मौज्दात सिरिन्ज प्रयोग गर्ने तयारी 
स्वास्थ्यसेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भएकाले पहिलो प्रयास ‘कोभिसिल्ड’ खोप ल्याउने रहेकोे छ । यो खोप लगाएपछि केही व्यक्तिलाई गम्भीर समस्या देखिन सक्ने भए पनि नेपालले त्यसलाई निको पार्ने एड्रिनालिन औषधि तयार पारेको छैन । त्यतिमात्रै नभएर कोभिड खोपका लागि अलग्गै सुईसमेत तयार छैन ।

हाल नियमित खोपका लागि मौज्दात रहेको ५० लाख सिरिन्ज कोभिड–१९ को खोपका लागि प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ । ‘सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप मात्रै बनाउने काम गर्छ । उसले सिरिन्ज बनाउँदैन, हामीले त्यसका लागि बेग्लै व्यवस्थापन गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

कोभिडका लागि ११ कोल्ड स्टोर 
स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका अनुसार देशभर २८ वटा कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने गरी तयार पारिएको छ । उपत्यकामा दुई कोल्डरुमलाई कोभिड खोप भण्डारण गर्ने गरी तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयमा दुईवटा कोल्डरुममा ४२ लाख १४ हजार पाँच सय ६० डोज भ्याक्सिन अट्नेछन् ।

विराटनगरमा एउटा कोल्डरुममा आठ लाख ६२ हजार, केन्द्रीय भ्याक्सिन स्टोर पथलैयाका तीनवटा कोल्डरुममा १४ लाख ३६ हजार सात सय, हेटौँडामा १४ लाख ३६ हजार सात सय  डोज खोप अट्नेछ । प्रदेश २ मा पनि हेटौँडाबाट खोप पठाइनेछ । त्यसका लागि २८ लाख ७३ हजार पाँच सय सय डोज भ्याक्सिन अट्ने कोल्डस्टोर तयार गरिएको छ ।

पोखरामा आठ लाख ६२ हजार डोज, बुटवलमा तीन कोल्डरुममा १४ लाख ३६ हजार सात सय डोज, नेपालगन्ज र सुर्खेतका दुईवटा कोल्डरुममा २८ लाख ७३ हजार चार सय डोज, धनगढीमा आठ लाख ६२ हजार डोज कोभिड भ्याक्सिन अट्नेछ । केन्द्रमा छुट्टै्र रहेको पाँच हजार दुई सय ५० लिटर क्षमताको कोल्डरुममा काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका लागि पनि खोप राख्ने तयारी छ ।

तीनवटा भ्यान र रुट तयार
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा तीन प्रतिशत जनतालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । त्यसका लागि विभिन्न भ्याक्सिन स्टोरमा सामान लैजान तीनवटा भ्यान तयारी अवस्थामा राखेको छ । एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढी छाड्नेछ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले भने पोखरा लैजानेछ ।

कार्गो भवनमा कोल्ड स्टोर, विमानस्थलबाटै देशभर पठाइने 

विदेशबाट ल्याएको कोभिड–१९ को भ्याक्सिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड स्टोरमै गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र स्वास्थ्यसेवा विभागबीच भ्याक्सिनको स्टोर विमानस्थलमा बनाउने सम्झौता भएको हो । ‘विमानस्थलको आयात र निर्यात दुवैतर्फका कोल्ड स्टोरमा करोडाैं भ्याक्सिन राख्न सकिने स्टोर रहेकाले जनताको हितमा राखेर सम्झौता गरेका हौँ,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । कोल्ड स्टोर सुरक्षा र सजिलो पनि हुने भएकाले निःशुल्क प्रयोग गर्न दिनका लागि सम्झौता गरिएको पोखरेलले बताए । नेपालमा अनुदान र खरिदबाट आउने सबै प्रकारका भ्याक्सिन विमानस्थलको कोल्ड स्टोरमा राख्ने र त्यहीबाट प्रदेश, जिल्ला, नगरपालिका तथा गाउँपालिकमा पठाउने गरी स्वास्थ्यसेवा विभागले तयारी गरेको छ ।

विदेशबाट ल्याइएका भ्याक्सिन कार्गो भवनमा रहेको आयाततर्फको कोल्ड स्टोरमा राखिनेछन् । वितरण भने निर्याततर्फको कोल्ड स्टोरबाट गरिनेछ । कोल्ड स्टोरमा राखी देशभरका खोपकेन्द्रमा पुर्‍याएपछि मात्रै सरकारले खोप अभियान सुरु गर्ने भएको छ । भारतले नेपाललाई दिन लागेको अनुदानको भ्याक्सिन राख्ने कोल्ड स्टोर हेर्न नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहितको टोली अवलोकन गर्न लागेको जनाएको छ । विमानस्थल स्रोतका अनुसार भारतले दिन लागेको अनुदान भ्याक्सिन राख्ने कोल्ड स्टोर मर्मत भइरहेको र मर्मतपश्चात् राजदूतले कोल्ड स्टोर निरीक्षण गर्नेछन् ।

भारतले दिने खोपको आज घोषणा गरिँदै 

भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय राजदूतावासका एक अधिकारीले भने, ‘हामीले खोप निःशुल्क सहयोग गर्दै छौँ । पहिलो चरणको सहयोगअनुरूप बुधबार एक कार्यक्रमबीच खोप सहयोग घोषणा गर्नेछौँ ।’

स्वास्थ्य मन्त्रालयले भने संख्याका विषयमा यकिन नभएको बताएको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘खोपको संख्यामा फेरबदल भएकाले हस्तान्तरण नगर्दासम्म यकिन भन्न सकिन्न ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका अधिकारीहरूले पनि खोप घोषणा कार्यक्रमबारे अनभिज्ञता जनाएका छन् । यसबारे जानकारी नभएको बताउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘खोप जतिसक्दो चाँडो ल्याउने भन्नेमा लागेका छौँ । सायद एक दुई दिनमा थाहा होला ।’

विश्वमा कोरोना खोपको कारोबार

डुक ग्लोबल हेल्थ इन्नोभेसन सेन्टरका अनुसार विश्वका विभिन्न मुलुक तथा संघ–संगठनले हालसम्म कोभिडविरुद्धको सात अर्ब २५ करोड डोज खोप खरिदका लागि सुचिश्चित गरेका छन् । अहिले खोपको अग्रिम बुकिङ जारी छ । छिमेकी भारतले मात्रै एक अर्ब ५० करोड डोज खोप खरिदका लागि अर्डर गरको छ ।

त्यस्तै, युरोपियन युनियनले एक अर्ब ५८ करोड ५० लाख डोज खरिद सुनिश्चित गरेको छ । अमेरिकाले एक अर्ब एक करोड डोज, क्यानाडाले ३५ करोड ८० लाख डोज, बेलायतले ३५ करोड ७० लाख डोज, इन्डोनेसियाले ३२ करोड ८० लाख डोज, जापानले २९ करोड डोज र ब्राजिलले १९ करोड डोज खोप खरिदका लागि उत्पादक कम्पनीहरूसँग सम्झौता गरेको छ । दक्षिण एसियाको बंगलादेशले पनि तीन करोड एक लाख डोज अर्डर गरेको छ भने मलेसियाले एक करोड २८ लाख डोज सुनिश्चित गरेको छ ।

उत्पादक कम्पनीहमध्ये अक्सफोर्डले दुई अर्ब ६० करोड डोज, नोभाभ्याक्सले एक अर्ब ३० करोड डोज, जिएसकेले ७३ करोड २० लाख डोज, फाइजरले ७१ करोड १० लाख, मोडर्नाले ४० करोड खोप उत्पादनका लागि विभिन्न मुलुकसँग सम्झौता गरेको छ । चीनको सिनोभ्याक्सले पनि २९ करोड २० लाख डोज खोप निर्यातका लागि विभिन्न मुलुकसँग सम्झौता गरेको छ । बायोएनटेक तथा फाइजर, मोडर्ना, अस्ट्राजेनेका, अक्सफोर्ड विश्वविद्यालयले खोपको अनुसन्धान र प्रयोगमा काम गरिरहेका छन् । यी कम्पनीहरूले हालसम्म सफलतापूर्वक खोप परीक्षण सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्