वीरगञ्ज नाकाबाटमात्रै व्यापारघाटा १ खर्ब ९० करोड

लोकपाटी न्यूज
0 Shares

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनामा २ खर्ब १० अर्ब रुपैयाँबराबर मूल्यको आयात हुँदा १९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै भएको आयातनिर्यातमा मात्रै १ अर्ब ९० अर्ब रुपैयाँ व्यापारघाटाको तथ्यांक छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा कुल व्यापार २ खर्ब २९ अर्ब रुपैयाँबरार भएको छ । यो गत आर्थिक वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा १० प्रतिशत कम हो ।

यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारीका साधन, औषधि र औद्योगिक कच्चा पदार्थ भित्रिएका छन् । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसीट, बिलेटलगायत वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट हुने समग्र आयात भने घटेको छ । ‘आयातको आकार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा करीब १२ प्रतिशतले घटेको छ । गतवर्ष साउनदेखि पुससम्ममा २ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको थियो,’ अधिकृत सुकमनीले आर्थिक अभियानसँग भने ।

निर्यात ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुससम्म १८ अर्ब रुपैयाँबराबरको मालसामान निर्यात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ । गतवर्ष यो नाकाबाट प्रशोधित पाम आयल निकासीको शीर्ष स्थानमा थियो । भारतले आयातमा रोक लगाएपछि निकासी ठप्प भएको छ । यो वर्ष पाम आयलको स्थान भटमासको प्रशोधित तेलले लिएको छ । कुल निकासीमा ११ अर्ब रुपैयाँको भटमासको तेलमात्र गएको भन्सारको तथ्यांकले देखाउँछ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका १४ ओटा तेल उद्योगले चालू वर्षको ६ महीनामा ७८ हजार ३४१ मेट्रिकटन यस्तो तेल भारततर्फ निकासी गरेका छन् । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा साढे ३ गुणाभन्दा बढी हो । यो नाकाबाट जुस, कपडा, दन्तमन्जन, सेन्थेटिक यार्न, जुत्ता गलैंचालगायत वस्तु निकासी भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्