ओलीले प्रचण्ड र मलाई सिध्याउन खोजेका थिए, आफैँ सिद्धिएः नेपाल

madhav-nepal
  • 89
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलाई जेल कोच्ने योजना बनाएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेपालले ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन अनेक षड्यन्त्र गरेको आरोप पनि लगाए।

ललिता निवास प्रकरणमा आफुलाई जोडेर राजनीतिक जीवन नै सिध्याउने गरि षड्यन्त्र गरेको उनको भनाइ थियो। नेपालले भने, ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए। ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो।’

उनले प्रधानमन्त्री ओली २०७१ सालमा तत्कालीन एमालेको अध्यक्षमा निर्वाचित भएपछि आफूहरु पीडामा परेको र पार्टी पनि आरालो लागेको बताए। नेपालले भने, ‘हाम्रो त बिजोग भो। ओलीबाट धेरै पीडा पाइयो। मनको बह कसलाई कह भनेर बसेका थियौं।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दुखेसो थियो।

‘केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो। तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ,’ उनले भने।

ओलीले थुक, वीर्य, खकार र डीएनए टेष्ट गरेर गुट बनाउने गरेको आरोप पनि नेपालले लगाए। उनले ओलीले एकाधिकार लाद्न खोजेको बताए। नेपालले सरकारका दैनिक काममा आफूहरुले प्रधानमन्त्री ओलीलाई कहिल्यै हस्तक्षेप नगरेको पनि बताए। ‘हामीले सरकारका काममा हस्तक्षेप गरेनौँ,’ उनले भने,‘हाम्रो चासो ओलीका नीतिगत निर्णय र अन्तर्राष्ट्रिय सम्बन्धबारे मात्रै हुन्थ्यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्