संसद विघटनविरुद्ध जनतामाझ जान्छौंः प्रचण्ड

Prachanda New photo
  • 407
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन्। बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजातिको भेलामा प्रचण्डले ओलीको तानाशाही प्रवृत्तिलाई जनताले पराजित गरेको इतिहास नबिर्सन पनि चेतावनी दिए।

उनले तानाशाहलाई विद्रोहमार्फत अन्त्य गरेको इतिहास रहेको बताउँदै पार्टीभित्रको गोर्वाकोव प्रवृत्तिविरुद्ध लड्ने अवस्था आइपरेको बताए। अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए। प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने पनि बताए।

‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं। यो दुर्भाग्यपूर्ण कुरा हो’, उनले भने। प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आएका छन्। संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डले बताए।

‘संविधानमा जे जति अधिकारहरू दिइएका छन् त्यसमाथि निर्ममतापूर्वक प्रहार भएको छ, संविधानलाई अतिक्रमण गरेर देशलाई संकटमा पुर्‍याउने दुस्साहस गरिएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र स्वेच्छाचारी हमलाविरुद्ध संघर्षको मैदानमा जानुपर्ने अवस्था आएको छ।’