न्यायाधीशहरूको प्रश्नले शंका उब्जाएको छः नेता झा

Keshab_Jha
  • 49
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका नेता केशव झाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको र अदालतले संवैधानिक व्यवस्थाअनुसार नै आफ्नो निर्णय सुनाउने विश्वास व्यक्त्त गरेका छन्। यद्यपि न्यायाधीशरूले बहसका क्रममा उठाइरहेका प्रश्नहरूले जनतामा शंका उब्जाएको झाले बताए।

‘लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ,’ ललितपुरमा आयोजित विरोधसभामा झाले भने,‘तर, न्यायमूर्तीज्यूहरूले जुन आशयका साथ प्रश्न गरिरहनु भएको छ त्यसले आमजनतामा शंका उब्जिन थालेको छ। तर, हाम्रो विश्वास छ उहाँहरूले संविधानको मर्म र भावनाअनुसार नै फैसला गर्नुहुनेछ।’

प्रतिनिधिसभा विघटन गरेर जनताको सार्वभौम अधिकार हनन गर्दै राजा बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढिला नगरी माफी माग्नुपर्ने उनले बताए। साथै प्रधानमन्त्री ओलीले चुनाव गराउने विषयमा ढुक्क हुनसक्ने अवस्था नरहेको उनले जिकिर गरेका छन्।

‘संविधान मिचेर प्रधानमन्त्रीले संवैधानिक संकट निम्त्याउनु भएको छ,’ उनले भने, ‘संविधान नै नमान्ने प्रधानमन्त्रीले कसरी चुनाव गराउला भनेर विश्वास गर्नसक्ने अवस्था छैन।’ झाले तेस्रो चरणको विरोध कार्यक्रम थप कडा बनाइने बताए छ। प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले आज दोस्रो चरणको अन्तिम दिन सबै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ।