भोलि नेकपाको शक्ति प्रदर्शन, यस्तो छ तयारी

Prachanda_Nepal
  • 2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ। सभामा कम्तिमा २ लाख कार्यकर्ता नेकपाको तयारी छ। शुक्रबारको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरू आउनेक्रम जारी छ।

काठमाडौंको विभिन्न दश नाकामा जम्मा भएर कार्यकर्ताहरू रत्नपार्कको शान्तिवाटिका पुग्ने कार्यक्रम तय भएको नेकपा आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए। शुक्रबारको विरोध प्रदर्शनपछि अदालत, कामचलाउ प्रधानमन्त्री र अलमलमा रहेका सबैजना भ्रममुक्त हुने उनको भनाइ छ। असंवैधानिक कदम रोक्ने निकाय अदालत रहेको बताउँदै पौडेलले अदालतले नरोके अन्तिम निकाय जनअदालत नै हुने जिकिर गरे।

काठमाडौंमा जनअदालतको प्रयोग हुने उनको भनाई छ। जनअदालतको सन्देश सर्वोच्च अदालत र प्रतिगामी शक्तिहरूले बुझ्नुपर्ने उनले बताए। सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ। अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताए।

‘अनेरास्ववियूले भोलि सिंहदरबरालाई मानव सागरले घेर्ने योजना बनाएको छ। आन्दोलन र प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारविरूद्ध दमन हुन खोजे हामीले प्रतिरोध गर्छौं,’ उनले भने, ‘विद्यार्थीको ठूलो संख्या हामीसँग रहेकाले प्रदर्शन उत्साहजनक हुन्छ।’

विरोध प्रदर्शनलाई सफल पार्नको लागि नेकपा प्रचण्ड-माधव पक्षले विभिन्न बुँदामा निर्देशिका तयार पारेका छन्। केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुख्य सात बुँदामा तयार भएको निर्देशिका बिहीबार सार्वजनिक गरेका छन्। बुँदाको पहिलो नम्बरमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुले केन्द्रले तोकेको संख्या नघटाइकन प्रदर्शनमा सहभागी गराउन निर्देशन दिएको छ।

नेकपाले काठमाडौंको माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका,त्रिचन्द्र कलेज, वाल्मीकी कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड-माधव पक्ष विरोधमा उत्रेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्