स्पष्टिकरण पत्रको जवाफ दिने आँट ओलीमा रहेनः नेपाल

Madhav_Nepal
  • 398
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। अधिकार क्षेत्र बाहिर गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै नेता नेपालले ओलीलाई कुलकै कुलंगार भएको आरोप लगाए।

ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको भन्दै नेपालले भने, ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु, केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकी व्यक्ति भए। संविधान कुच्चिए।’

बिहीबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलामा नेपालले कहिले पनि प्रधानमन्त्री ओलीलाई गणतन्त्रको माया नभएकाले अहिलेको अवस्था आएको बताए। ‘आफूले जन्माएको बच्चाको मात्र माया हुन्छ। गणतन्त्र केपी ओलीले जन्माएको होइन। त्यसैले उहाँलाई माया छैन।’

केपी ओलीसँग गुटवादी प्रवृत्ति भएको समेत आरोप लगाए उनले। उनमा कम्युनिष्ट सोच नभएको दावी गरे। सधैं अरुलाई हेप्ने स्वभावको भएको समेत बताए। केपी ओलीले अन्याय र अत्यचारमात्र गर्ने गरेको नेपालको दावी थियो। त्यस्तै, उनी २०२८ सालमा झापाबाट भागेर हिंडेको भगौडाको समेत संज्ञा दिएका थिए।

झापामा सिपी मैनाली, झलनाथ खनाल, मुकुन्द न्यौपाने जस्ता नेतासँग मिल्न नसकेर भागेको आरोप नेता नेपालले लगाए। ‘मैले नै रौतहटमा जिल्लामा ल्याएको हो। अहिले माधव नेपाल कहाँ भन्छ, विर्सेछन्। मेरो डेरामा दुई महिना बस्न आउने को ? केपी ओली,’ उनले भने।

नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा पनि गरे। ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं।’

उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्