नेकपाको प्रदर्शन अगावै उपत्यकाको ट्राफिक अस्तव्यस्त, यात्रुको बिचल्ली

Traffice_Police_Kathmandu
  • 126
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले विरोध प्रदर्शन र सभा आयोजना गर्नुभन्दा अगावै उपत्यका क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। नेकपाको प्रचण्ड-माधव पक्षले उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकाल्ने तयारी गरेको छ।

जुलुस निकाल्नु अघनै सार्वजनिक यातायात प्रभावित भएको छ। यसबाट खासगरि विद्यार्थी, कामकाजीको बिचल्ली भएको छ। काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने संघर्ष समितिले तयारी गरेको छ। विभिन्न ठाउँबाट निस्कने जुलुसको नेतृत्वका लागि नेकपा स्थायी समिति सदस्यहरूलाई जिम्वेवारीसमेत तोकिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार मुख्य-मुख्य क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई फर्काइएको छ। अधिकारीका अनुसार अहिले कोटेश्वरबाट तीनकुने हुँदै बानेश्वरतर्फ आइरहेका सवारी साधनलाई तीनकुनैबाट फर्काइएको छ। यस्तै पुरानो बसपार्क हुँदै सिंहदरबाटतर्फबाट चल्ने सवारीसाधनलाई पनि केहीबेरपछि रोकिने छ।

लैनचौर हुँदै रत्नपार्क आउने, थापाथली क्षेत्रतिरबाट रत्नपार्कतर्फक आउने र लैनचौर हुँदै रत्नपार्क आउने सवारी साधन पनि प्रभावित हुने अधिकारीको भनाइ छ। जुलुस अहिले केहीबेरमा सुरु भएर भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुनेछ। सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ।