ओलीको देशलाई भड्खालोमा हालेः माधव नेपाल

madhav-nepal
  • 100
    Shares
लोकपाटी न्यूज

सुर्खेत। नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि गरेको ‘कू’ विरुद्ध कर्णाली जागेको बताएका छन्। शुक्रबार वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कर्णाली संविधानको पक्षमा लागेको बताए।

‘ओलीको प्रतिगमनकारी कदमका विरुद्धमा हिजो कर्णालीमा अपार जनप्रदर्शन भयो। कर्णाली जागेको छ, देश नै जाग्छ।’ उनले थपे, ‘कर्णाली फर्केको देख्नुभएको छ ? बरु समुन्द्रमा मिल्छ।’ नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहित रहेको दावी गरे।

‘हामी आधिकारीक हौं, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, अबको एक दुई दिनमा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारवाही गर्दैछौं।’ अध्यक्ष नेपालले ओलीको एकलौटी पनले देशलाई भड्खालोमा हालेको बताए।

‘ओलीलाई देशको चिन्ता छैन्, संविधानको चिन्ता छैन,’ उनले भने, जनताको चाहनामाथि कुठाराघात भएको छ, संविधान मिचिएको छ, यो कदम गलत भएको कर्णाली पुष्टी गरिसकेको छ।’

प्रधानमन्त्री ओली कहिल्यै पनि नेकपा एमाले नभएको अध्यक्ष नेपालले बताए। ‘उहाँ कहिले एमाले हुनुभयो ? जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ। पार्टी एकताको बेला जबज सिन्द्धात आफै नमान्ने भनेर हस्ताक्षर गर्नु भएको उहाँले नै हैन् ?’ उनले भने,‘त्यसैले बहुमत सदस्य हामीसँग छ। सुर्य चिन्ह र पार्टी नाम पनि हाम्रै पक्षमा आउनेछ। उहाँले सुर्य चिन्ह पार्टी कहिल्यै पाउनु हुन्न।’

सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताए। प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष, प्रधानमन्त्री दुवै आफैँ भएका कारणले मैले जे गरे सही गरे, आफुले जे ठानेको छु त्यो नै सही हो भनेर पार्टी निर्णय विपरित एकलौटी सरकार र पार्टी चलाउन खोजेको अध्यक्ष नेपालले बताए। ‘प्रधानमन्त्री ओलीले आफुले गरेको सबै काम सही हो भन्न थालेँ। त्यो कुरा जनता र पार्टीले पत्याएन ’ उनले भने,‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्