देउवाले डाके शीर्ष नेताको बैठक

Sher_Bahadur_Deuba
  • 53
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन। देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई डाकिएको छ। समसामयिक विषयमा छलफल गर्ने भनि बोलाइएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए।

सडक प्रदर्शनको समीक्षा, प्रदेशमा आएको अविश्वास प्रस्तावलगायतमा छलफल हुनसक्ने नेता केसीले जानकारी दिए। बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे धारणा बनाउने बताइएको छ। सभापति देउवाले बागमती प्रदेशकै नेताहरुसँगको परामर्शमा उपयुक्त निर्णय लिनेगरी बैठक बोलाएका हुन्।

बैठकका लागि बोलाइए पनि जिल्लाका कार्यक्रममा नुवाकोटमा भएकाले उपस्थित हुन नसक्ने केसीले बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकका लागि बुढानीलकण्ठ बोलाइएको जानकारी दिए। समसामयिक विषयमा छलफल हुने उनले बताए। यसअघि प्रदेश एकका विषयमा बुधबार देउवाले प्रदेशका नेताहरुसँग छलफल गरेका थिए।

कांग्रेसमा प्रदेश १ र वागमतीका मुख्यमन्त्री शेरधन राई तथा डोरमणि पौडले विरुद्धको अविश्वास प्रस्तावमा के गर्ने भन्ने बारे निर्णय गर्न देउवामाथि दबाब छ। प्रदेश-१ मा प्रचण्ड माधव पक्षले भीम आचार्य र वागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएका छन्। कांग्रेसलाई दुवै पक्षले सत्ता सहकार्यको प्रस्ताव राखेका छन्।

दुवै प्रदेशमा सरकार ढाल्न र टिकाउन कांग्रेसको संख्या निर्णायक भएकाले देउवाले छलफल गरिरहेका छन्। कांग्रेसको प्रदेश संरचना नरहेकाले केन्द्रबाटै निर्देशन दिइने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्