काठमाडौं। यो साता सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। साताको पहिलो दिन ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि २ सय रुपैयाँले घटेर ९१ हजार ६ सयमा किनबेच भएको थियो।
साताको पहिलो दुई दिन लगातार घटेको मूल्य मंगलबार ४ सय रुपैयाँले बढ्दा सुन प्रतितोला ९२ हजार पुगेको थियो। बुधबार पुनः ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पुनः ६ सय रुपैयाँले उकालो लाग्यो।
अघिल्लो दिन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले घटेर कारोबार भएको हो। चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँ भएको छ। यो गत साताको अन्तिम दिन बराबरकै मूल्य हो।