‘बयलगाडा चढेर अमेरिका पुगिन्न भनेकै हुँ : प्रधानमन्त्री

KP_Oli_PM
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई एक आन्दोलनका रूपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफ्नो समूहको पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि आफ्नो पार्टीको फेरि बहुमतसहितको सरकार बन्ने उद्घोष गरे।

उनले प्रतिनिधि सभा पुनर्स्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरे। उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्‍याउनेहरू आफै पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनि दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गरे। उनले आफूहरूले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला कांग्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराए।

पहिलो संविधान सभालाई आफूहरूले नभइ अरूले विघटन गराएको र बल्लबल्ल फेरि निर्वाचन गरि अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा समेटेपछि अरूको पार्टी भित्रैबाट सरकारको विरोधमा खेल सुरु भएको आरोप लगाए।

पार्टी र कम्युनिस्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उनले प्रश्न गरे, ‘आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरूका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ?’

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधि सभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नाको औचित्य नभएको बताए। ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री रायमाझीले शान्ति प्रक्रियामा आइसकेपछि अब युद्धको धङ्धङीको काम नभएको पनि जनाए।

पेसागत कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले नयाँ स्थितिमा पेसागत क्षेत्रका कार्यकर्तालाई एकताबद्ध र सक्रिय हुन आग्रह गरे। यस कमिटीका सचिव समीर नेपालले पार्टीले यही माघ २३ गते काठमाण्डौमा जनसभा आयोजना गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्