उपराष्ट्रपति पुन निवासमा प्रचण्ड-भट्टराई वार्ता : के भयो कुराकानी ?

Prachanda_Baburam
  • 5.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ।

नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए। त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो। कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन्।

बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन्। भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दै रहनेछु

Capture

त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन्। आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ।

उनले लेखेका छन्, ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आ-आफ्ना ऐनामा हेरेर मक्ख नपरौं !’  आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं !’

2

उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ। उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन्। त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मात्र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ३७ औं सत्रलाई सम्बोधन गर्दै द्वन्द्वकालमा भएका मानवअधिकार हननका गम्भीर प्रकृतिका घटनामा आममाफी नदिने बताएका थिए। शुक्रबारै अध्यक्ष दाहालले ओलीले शान्ति प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने भन्दै सार्वजनिक मञ्चमा भाषण गरेका थिए। त्यही कुरा बोलेपछि उनी उपराष्ट्रपति निवास पुगेका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।