सरकारी जागिर पाएपछि एसिड पीडित युवतीमा खुसी

Acid attact01
सांकेतिक तस्बिर
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। तेजाब आक्रमणमा परेकी ओखढुंगाकी पवित्रा कार्कीलाई अनुहारमा लागेको दागसँगै जिन्दगीको चिन्ता बढ्दै थियो। पढ्ने उमेरमा अनुहारमा खत बसेपछि उनलाई त्यसैको पिरलो परिरहेको थियो। उपचारपछि निको भएर भविष्यबारे चिन्ता गरिरहेकी पवित्रालाई एकाएक खुसी मिलेको छ।

नेपाल आयल निगमले पवित्रा र नवलपरासीकी वसन्ती परियारलाई सहायक स्तरको रोजगार दिएको छ। उनीहरूलाई पुस १६ गतेदेखि करारमा नियुक्त गरिएको हो। सरकारले रोजगारको व्यवस्था गरेसँगै भविष्यको चिन्ता बोकेका पीडितहरूमा हौसला मिलेको छ।

यसले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने पीडितहरूको भनाइ छ। ‘हामी काम गर्न सक्छौं, एसिड आक्रमणमा पर्दैमा हामीले असक्षम भएका होइनौं, सरकारले हामीलाई बाटो देखाइदिएको छ,’ पवित्राले भनिन्। निगम सञ्चालक समितिले उनीहरूलाई निर्वाह खर्च पुग्ने गरी रोजगार दिएको हो।

एसिड आक्रमणमा परेका दुवैजनाको आर्थिक अवस्था कमजोर छ। नवलपरासीकी वसन्तीमाथि २०७५ असोजमा र ओखलढुंगाकी पवित्रामाथि गत साउनमा एसिड आक्रमण भएको थियो। त्यसो त अन्य एसिडपीडितलाई पनि सरकारले यसअघि रोजगार दिइसकेको छ।

एसिडपीडित संगीता मगर कुमारी बैंकमा कार्यरत छिन्। उनी भन्छिन्, ‘हामी त पीडित भयौं भयौं, रोजगारले हौसला मिलेको छ, अब अरु पनि यसरी नै पीडित हुन नपरोस्, जे होस् अहिलेको कानुन चित्त बुझ्दो छ।’ उनी मंसिरदेखि कुमारी बैंकको टंगाल शाखामा जागिरे भएकी छिन्। उनका दुई साथीले पनि कुमारी बैंकमै जागिर पाएका छन्। कुमारी बैंकले उपत्यकामा दुईजना र हेटौंडामा एक जनालाई स्थायी रोजगारी दिइसकेको छ।

हेटौंडाकी विन्दवासिनी कंसाकार, काठमाडौंमा बस्दै आएका संगीता मगर र जेनी खड्कालाई पायक पर्नेगरी कुमारी बैंकले रोजगार दिएको हो। उनीहरू बैंकमा ‘मार्केटिङ अफिसर’को रूपमा काम सुरु गरेका हुन्। एसिड आक्रमणमा परेपपछि उनीहरूले पढाइलाई भने निरन्तरता दिएका छन्।

प्लस टु अध्ययन गर्दै गरेकी जेनी खड्का रोजगार पाएर भविष्य सुरक्षित बनाउन पाउँदा खुसी छिन्। उनी भन्छिन्, ‘मैले यसअघि पनि एनजिओमा काम गर्दै आइरहेकी थिएँ, तर त्यहाँ ढुक्क हुने अवस्था थिएन । जब कुमारी बैंकमा जागिर सुरु गरेँ मलाई हौसला थपिएको छ, अहिले बनेको कानुनले पनि यस्तो घटना रोक्नलाई ठूलो मद्दत र्पुयाउनेछ।’

बैंकले क्षमता र बेरोजगार अवस्थालाई हेरेर रोजगारको व्यवस्था गरेपछि युवतीमा हौसला थपिएको एसिड अपराधविरुद्ध आवाज उठाउँदै आएका उज्ज्वलविक्रम थापाले बताए। यस्तो अवसरले पीडित युवतीलाई हौसला थपेको उनको भनाइ छ। ‘अहिलेसम्म कानुनको समस्या पनि थियो, रोजगारी पनि नपाउने अवस्था थियो, अहिले भने पीडितलाई केही हौसला मिलेको छ,’ उनले भने ।

त्यस्तै, एसिड आक्रमणमा परेका एक पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा १ वर्षअघि नै रोजगार पाएका छन्। नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै करारमा चालक नियुक्ति गरिएको हो। एसिड आक्रमणबाट पीडित उनले गाडी चलाउन सिकेका थिए। सोही आधारमा उनलाई नियुक्ति गरिएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्