काठमाठौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ। सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ।
प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाण्डौको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।
त्यसैको स्मरणमा १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमालाई फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुनेछ।