नागरिक स्टक डिलरले पायो धितोपत्र व्यापारीको काम गर्न बार्डको अनुमति

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको काम गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ। नागरिक लगानीकोषको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीलाई बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न भन्दै धितोपत्र व्यापारीको रुपमा अनुमति दिएको हो। बोर्डका अनुसार फागुन १ गतेदेखि स्टक डिलरले पूँजीबजारमा व्यापार शुरु गर्न सक्नेछ।

यसअघि बोर्डले नागरिक लगानीकोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्रको व्यापारिको कार्य गर्न सक्ने व्यवस्था समेटी फागुनदेखि लागू हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको थियो। उक्त व्यवस्था बमोजिम आवश्यक प्रकृया पूरा गरेपश्चात बोर्डले स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिएको बताएको छ।

यस वर्षको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालमा ल्याउने व्यवस्था उल्लेख भए बमोजिम बोर्डले प्राथमिकताका साथ स्टक डिलरलाई बजारमा भित्र्याउन लागेको हो। नेपालको शेयर बजारमा हाल स–साना लगानीकर्ताको वाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै पूँजीबजारमा गतिशिलता आउने विश्वास बोर्डले गरेको छ।

धितोपत्र बजारसँग यस अघि पनि नागरिक लगानीकोषको प्रत्यक्ष सम्बन्ध रहेको थियो। कोषले बजारमा लगानी गर्नुका साथै प्राथमिक बजारमा सार्वजनिक निष्कासनका धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको रुपमा पनि काम गरिरहेको थियो भने शेयर प्रत्याभूतिकर्ताको रुपमा पनि भूमिका निभाईरहेको थियो। धितोपत्र दोस्रो बजारमा व्यापारिकै रुपमा काम गर्ने उद्देश्य अनुरुप कोषले गतवर्षको माघमै सहायक कम्पनीको रुपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो। यस कम्पनीमा नागरिक लगानी कोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ ।

रू। ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ। सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ। आगामी दुई वर्षभित्र सर्वसाधारणमा पनि शेयर जारी गर्ने योजना कम्पनीको रहेको छ। पछिल्लो समय धितोपत्र दोस्रो बजारमा ७ देखि ८ अर्ब रूपैयाँसम्म कारोबार हुने गरेको छ । रू। ३२ खर्ब ८९ अर्ब ९५ करोड ७० लाख ३५ हजार कुल बजार पूँजीकरण भएको बजारमा रू ५ अर्ब पूँजी रहेको नागरिक स्टक डिलर कम्पनीले बजारलाई सन्तुलनमा राख्न भने असम्भव रहेको जानकारहरु बताउँछन्।

यद्यपी बजारमा स्टक डिलर कम्पनीको प्रवेशले शुरुवात पाएको छ। बजारलाई सञ्तुलनमा राख्न केहि हदसम्म सहयोग पुग्ने नागरिक स्टक डिलरलाई साथ दिने अन्य कम्पनीहरु भित्रिनेमा पनि आम सर्वसाधारण आशावादी रहेका छन्। यस अघि पनि स्टक डिलरको भूमिका निर्वाह गर्न सक्ने जिम्मेवारी पाएका सामूहिक लगानीकोषहरुले बजारको आकार अनुसार आफ्नो पूँजी पर्याप्त नभएकाले उक्त जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै आएका थिए। नागरिक स्टक डिलरलाई पनि अहिलेको बजारमा यो पूँजीले सन्तुलन कायम गराउन मुस्किल नै देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्