ओलीलाई रावलको प्रश्नः सुदूरपश्चिमले बहुमत दिँदा बेवास्ता, कामचलाउ भएपछि मन्त्री बाँड्ने ?

Rawal_Bhim
  • 509
    Shares
लोकपाटी न्यूज

धनगढी। नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन्। नेकपा प्रचण्ड-नेपाल पक्षको कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट चार-चारजनालाई मन्त्री बनाएको बताए।

‘जुनवेला डडेल्धुरा र टीकापुरका दुई सिटबाहेक सारा जितेर पठायौं, त्यो वेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ प्रदेश इन्चार्जसमेत रहेका रावलले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई हतियार बनाइएको छ।’ गत निर्वाचनमा सुदूरपश्चिमका १६ मध्ये नेकपाले १४ वटा निर्वाचन क्षेत्र जितेको थियो। तर, निर्वाचनपछि गठन भएको सरकारमा ओलीले कसैलााई मन्त्री बनाएका थिएनन्। गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेपछि भने ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै सुदूरपश्चिमबाट तीनजना मन्त्री बनाएका छन्।

संसद् विघटनलगत्तै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट प्रेम आलेलाई वन तथा वातावरणमन्त्री, गणेशसिंह ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन्। करिब एक वर्षअघि ओलीले लेखराज भट्टलाई उद्योगमन्त्री बनाएका थिए। तत्कालीन नेकपा माओवादीका नेता भट्ट संसद् विघटनपछि ओलीतिर लागेका छन्। नेता रावलले प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्षमा सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठूला योजना नल्याएको जिकिर गरे।