नेकपाको स्थायी समिति बैठक आज : ओलीमाथि थप कारबाही गर्ने तयारी

Madhav-nepal-and-prachanda-11 (1)
  • 103
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दैछ। पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ। ओलीलाई यसअघि सो समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारबाही किन नगर्ने’ भनि स्पष्टीकरण सोधेको थियो। तर, ओलीले जबाफ दिएनन्। उसो त यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो।

संसद बिघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।

शनिवार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ।