ह्वात्तै बढ्यो सुन आयात

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा सुन आयात ह्वात्तै बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार करिब ६ महिनाको अवधिमा गत वर्षको तुलनामा २ सय ५० केजी बढी सुन आयात भएको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा नेपालले ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको १४ सय ५० केजी सुन आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा १२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात भएको छ। जुन गत वर्षको तुलनामा ४ अर्ब २७ करोड ९१ लाख रुपैयाँ बराबर अर्थात् २ सय ५० केजी बढी आयात भएको छ।

बजारमा सुनको मूल्य अत्यधिक बढिरहेको अवस्थामा सुन आयात भने अस्वभाविकरुपमा बढेको छ। एकातिर कोरोनाले गर्दा लामो समयसम्मको बन्दाबन्दीले आर्थिक संकट खेपिरहेको अवस्थामा कारोबार कम भएको व्यवसायीहरूले बताएका छन् भने अर्कोतर्फ सुनको आयात बढेकोले माग बढेकै हो त भन्ने प्रश्न उब्जिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले लामो समयसम्म कारोबार रोकिएको हुनाले बजार खुल्ला भएसँगै आयात बढेको हुन सक्ने बताए।

उनका अनुसार चैतबाट साउनसम्ममा अधिकांश व्यापार व्यवसाय बन्द भएको थियो। यसले गर्दा साउन यता सहज बन्दै गएको हुनाले सुनको मागसँगै आयात बढेको बताए। गत वर्ष तीज, दशैं, मंसिरमा खासै व्यापार नभएकाले हुनाले खपत हुन सकेको थिएन। तर, चालु आवमा सामान्य अवस्था भएसँगै दशैं, तिहार र मंसिरमा व्यापार राम्रो भएकाले सुन आयात बढी भएको उनको बुझाइ छ।

त्यसैगरी, कोरोनाको समयमै अप्रत्यासित रुपमा सुनको मूल्यमा वृद्धि भएकाले पछिको समयमा मूल्य घट्दै जाँदा सुन जोडेर राख्नेको संख्या बढ्दै गएको उनको अनुमान छ। ‘चैतदेखि असार अन्तिसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो। अहिले भाउ घटेर ९१ हजारको रेञ्जमा आएको छ, यसले गर्दा माग बढेको हुन सक्छ,’ उनले भने। त्यस्तै लामो समयसम्म बिहेलगायत अन्य सम्पूर्ण कार्य रोकेको हुनाले साउनयता बिहे गर्न थालेको र कोरोनको डर हटेपछि सुनको माग बढ्न थालेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्