ओली समूहमा प्रवेश गरेका छैनौंः लेनिन बिष्ट

  • 7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन माओवादीका लडाकुहरूको ‘पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाको संगठन’सँग छलफल गरेपछि राजनीतिक माहौल तातेको छ।

शनिवार प्रचण्ड-माधव पक्षधर नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा, पूर्वलडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसहितको सामूहिक छलफलमा भाग लिएका थिए। पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितले छलफलमा भाग लिएका थिए।

छलफलमा सहभागी विष्टले आफूहरूले प्रधानमन्त्रीसँग छलफल गरेको तर प्रवेश भने नगरेको बताए। ‘प्रधानमन्त्रीले पूर्वलडाकुहरूका बारेमा सरकारले राहत दिने भन्नु भएको छ,’ विष्टले भने ‘हामीसँगको छलफल सकारात्मक भएको छ, तर पार्टी नै प्रवेश चैँ होइन।’

उनका अनुसार घाइते अपांग पूर्वलडाकुको उपचार सरकारले व्यहोर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरिसकेको भन्दै ओलीले अन्य काम पनि सरकारले गर्ने भएकाले आफ्नो पक्षमा लाग्न भनेका थिए। त्यस्तै पूर्वलडाकुलाई परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका संरचनामा समायोजन गर्ने आश्वासन पनि ओलीले दिएका थिए। सहिद परिवारमा ‘एक घर एक रोजगार’का लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए।

‘जनयुद्ध’का बारेमा नकारात्मक टिप्पणी गरिरहे पनि उनैले सरकारको नेतृत्व गरिरहेकाले केही राहत पाउने आसमा आफूहरू बालुवाटार पुगेको एक पूर्वकमाण्डरले बताए। ‘हामीले यो मुद्दा लामो समयसम्म उठाउँदा कतैबाट सुनुवाइ भएन, तर अहिले एक्कासि पार्टी विभाजन भएपछि तानातान भएको छ,’ ती पूर्वलडाकुले भने, ‘कति साथीहरू त अहिले आर्थिक र शारीरिक रूपमा समेत समस्यामा भएकाले सरकारले राहत दिनुपर्ने कुरा भनेका छौँ।’

१० वर्षसम्म ‘जनयुद्ध’ मा सहभागी भएका र शान्ति वार्तामा आएपछि बर्हिगमनमा परेका उनीहरूले आफूहरूलाई राज्यले नहेरेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। यसक्रममा उनीहरू आन्दोलनमा पनि उत्रिए। तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि शान्त नै रहेका उनीहरूलाई अहिले तानातान सुरु भएको छ। उनीहरूले विगतका सरकारहरूलाई पनि दबाब दिँदै आएका थिए।