अनुचित व्यापारिक कारोबार गर्ने सय फर्म कारवाही

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महीनामा १०० ओटा भन्दा बढी फर्मलाई कारवाही गरेको छ। विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ ओटा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो।

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार एक महीनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ ओटा फर्मको अनुगमन गरिएको थियो।

तिनमा १६८ ओटा फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र १ लाख ३३ हजार रुपियाँभन्दा बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना सङ्कलन गरिएको बताइएको छ।

एक महीनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको उनले बताए। उनका अनुसार १०६ ओटा खाद्यान्न पसलको अनुगमन गर्दा २७ ओटा फर्म अनुचित व्यापारिक कारोबारमा संग्लन भएको पाइएपछि कारवाही गर्दा ४४ लाख ५ हजार राजस्व सङ्कलन भएको छ।

यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ ओटा फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजार बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको थियो।

अनुगमनका क्रममा अण्डा तथा दाना, अस्पताल, आयातकर्ता, उद्योग, कपडा पसल, कस्मेटिक तथा किराना पसल, खाद्यान्न, दाना उत्पादन, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसी पसलको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीद विक्री बिल नराख्ने फर्मलाई ५ हजारदेखि ३ लाख रुपियाँसम्म जरिवाना गरिएको विभागले बताएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्